राष्ट्रिय

झिमरुक फाँटमा अव्यवस्थित बसोवास बढ्दो, विकास पूर्वाधार पुर्‍याउनै चुनौती

प्यूठान । अव्यवस्थित संरचना निर्माणले झिमरुक फाँट मासिँदै गएको छ । खेतियोग्य जमिनमा भौतिक संरचनाहरु निर्माणले अव्यवस्थित बसोवास बढ्दै गएको हो । जसले झिमरुक फाँट कुरुप बन्दै गएको छ भने विकास पूर्वाधार पुर्‍याउन चुनौती देखिएको छ ।

 

करिव २५ सय हेक्टरमा फैलिएको झिमरुक फाँटमा धमाधम संरचनाहरु निर्माण भइरहेको छन् । संरचना निर्माणले खेतियोग्य जमिन त मासिँएको छ नै बसोवास समेत अव्यवस्थित हुँदै गएको छ । तत्कालिन जिल्ला विकास समितिले क्वाडी कुलोदेखि तल्लो क्षेत्रमा स्थायी भौतिक संरचना नबनाउने नीति लिए पनि पछिल्लो समय सो कार्यान्वयन नहुँदा फाँट कुरुप बन्दै गएको नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बताउनुभयो । ‘उत्पादनका हिसावले यो फाँट निक्कै उर्वरभूमि हो ।’ ,उहाँले भन्नुभयो, ‘उत्पादन हुने क्षेत्र माँसिदै गएको छ नै अव्यवस्थित बसोवासले भविष्यमा थप समस्या पैदा हुने देखिन्छ ।’ अव्यवस्थित बसोवास बढ्दै जाँदा भविष्यमा यातायात, संचार, विद्युत, सिंचाई, ढल जस्ता पुर्वाधार निर्माणमा कठिनाई हुने उहाँको भनाई छ ।

 

योजना विना झिमरुक फाँट जथाभावी रुपमा मासिँदै जाँदा भविष्यमा खुला ठाँऊको अभाव हुने देखिन्छ । शहरीकरण बढ्दै जाँदा अस्पताल, विद्यालय, तालिम केन्द्रहरु, खुला पार्क, बस स्टेशनहरु जस्ता पुर्वाधार निर्माणमा कठिनाई हुनेमा स्थानीयमा चिन्ता पैदा भएको छ । निजी जमिनमा भवनहरु निर्माणका रोक लगाउन कठिन छ ।’ ,प्यूठान उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले भन्नुभयो, यहि रफ्तारमा अव्यवस्थित संचरना निर्माण हुँदै जाने हो भने न खेतियोग्य जमिन बच्छ, न व्यवस्थित शहर बसाउन सकिन्छ ।’ सरकारले समयसमय नीति परिवर्तन गरिरहँदा बनिसकेका संरचनाहरु भत्काउनुपर्ने जोखिम पनि उत्तिकै रहने उहाँको बुझाई छ । बस्ती विकास र खेति योग्य जमिन संरक्षणका लागि सरकारले तत्काल ठोस योजना अघि सार्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

 

झिमरुक नदिको सिंचाई सुविधाले फाँटमा वर्षमा तीन खेति गर्न सकिने राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना प्यूठानका प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । ‘खेति गर्ने किसानहरुको स्वामित्वमा जमिन छैन ।’ ,उहाँले भन्नुभयो, ‘जमिनका स्वामित्व हुनेले आफु अनुकुल उपयोग गर्दा सम्भावना भएको जमिनलाई बहुउपयोगी बनाउन सकिएको छैन ।’ खेतियोग्य जमिनलाई खेतिमै उपयोग गर्ने र छेऊछाऊका भिरालो जमिनमा बस्ती विकासको योजना अघि सार्नुपर्ने उहाँको सुझाव छ ।

 

प्यूठान जिल्लाकै सौन्दर्यताको रुपमा रहेको झिमरुक फाँटको प्राकृतिक सौन्दर्यतालाई जोगाई राख्न स्थानीय पालिकाहरुलाई चुनौतीको विषय बनेको छ । झिमरुक नदिको उद्गम गौमुखी गाउँपालिकादेखि झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका, ऐरवाती गाउँपालिका क्षेत्रमा फैलिएको झिमरुक फाँटमा अव्यवस्थित संरचना निर्माणको क्रमम बढ्दो छ ।

Related Articles

Back to top button