प्यूठान, २० भदौ । नेकपा एमालेबाट छुट्टीई नेकपा एकीकृत समाजबादी र जनता समाजबादीबाट छुट्टीई लोकतान्त्रिक समाजबादी नेपाल पार्टी बनेको छ ।
एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई नयाँ दल रोज्नका लागी राजनीतिक दल सम्बन्धि ऐन र राजनीतिक दल सम्बन्धि नियमावली अनुसार नयाँ दल गठनको मितिले २१ दिनभित्र निर्वाचन कार्यालयमा सनाखत गर्नुपर्छ ।
जिल्ला निर्वाचन कार्यालय प्यूठानमा भदौ २२ गतेसम्म सनाखत गर्न सकिने गरि कार्यालयले जिल्लाका सबै स्थानीय तहमा परिपत्र गरेको छ ।
आइतबारसम्म जिल्लामा २ जना जनप्रतिनिधिले मात्र सनाखत गरेको निर्वाचन अधिकारी राजन श्रीवास्तबले जानकारी दिनुभयो । “आजसम्म २ जना जनप्रतिनिधिले सनाखत गर्नुभएको छ,” उहाँले भन्नुभयो,”सबै स्थानीय तहमा परिपत्र गरेका छौं ।” सनाखत गर्ने जनप्रतिनिधिको नाम बताउन नमिल्ने समेत उहाँले बताउनुभयो ।
सनाखत गर्ने को हुन?
निर्वाचन कार्यालय प्यूठानमा पुगेर नेकपा एकीकृत समाजबादी पार्टी रोज्ने जनप्रतिनिधि सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनार रहेका छन । मोहम्मद हलिमले आज निर्वाचन कार्यालय पुगेर सनाखत गरेको प्यूठान समाचारलाई बताउनुभयो ।