प्यूठान, १ कार्तिक । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति प्यूठानको अध्यक्षमा लोकेन्द्र सुनार चयन हुनुभएको छ ।
शनिवार होटल आयुष्मा जुम्रीमा भएको प्रथम भेलाले सुनारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कमल वि.क., सचिव बोमबहादुर परियार, कोषाध्यक्ष बिन्दु परियार, सहसचिवमा रविन वि.क. चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा कुलचन्द्र वि.क., सुरेन्द्र नेपाली, सिता वि.क., ज्योती विक, प्रेमबहादुर वि.क. लगाएतका सदस्यहरु चयन हुनुभएको हो ।
संघका केन्द्रिय अध्यक्ष विनोद पहाडी, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, लुम्बिनी प्रदेशका अध्यक्षता चिन्ता परिवार, नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महावीर राना लगाएतको उपस्थितीमा भेला गरिएको थियो । भेलामा प्रमुख अतिथि समेत रहनुभएका केन्द्रिय अध्यक्ष पहाडीले दलित पत्रकार संगठनले अन्य पत्रकार संगठनहरुसंग प्रतिष्पर्धा भन्दा पनि हिस्सेदार गर्ने बताउनुभयो । देशभरका दलित यूवायूवतीहरुलाई सञ्चार क्षेत्रमा ल्याउने उद्देश्य अनुसार संघ स्थापना गरेको उहाँले बताउनुभयो ।
संघको केन्द्रमा ०७६ साल जेठमा स्थापना गरिएको हो । हालसम्म नेपालका ६३ जिल्लामा कमिटी गठन संगै ७ वटै प्रदेशमा कमिटी गठन गरेको अध्यक्ष पहाडीले बताउनुभयो । हाल यो संघमा एक हजार ३ सय ४० जना व्यक्ति संगठित छन् । हाम्रो संघ दलित आन्दोलनको साझा चौतारी हो, उहाँले भन्नुभयो,–समाज बदल्नु, चेतना फैलाउने र संभावना खोज्ने काम गर्छौ।’
त्यस्तै प्रमुख जिल्ला अधिकारी भुसालले संविधान निर्माण पछि दलितको क्षेत्रमा सकारात्म रुपमा फड्को मारेको बताउनुभयो । सामाजिक र सांस्कृतिक परिवर्तन गर्न पत्रकारिता सशक्त माध्यम भएकाले दलित पत्रकारले पनि यस क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । जिल्लामा रंग र जातजातीको विभेद हुन नदिने प्रजिअ भुसालले बताउनुभयो ।
स्वर्गीय वि.क.को सम्झनामा अक्षयकोष स्थापना
नेपाल पत्रकार महासंघ प्युठानका संस्थापक अध्यक्ष स्वर्गीय सूर्यबहादुर विश्वकर्माको सम्झनामा सूर्यबहादुर विश्वकर्मा स्मृति पत्रकारिता पुरुस्कार प्यूठान स्थापना गरिएको छ । दुई लाख रुपियाँको अक्षयकोषको पुरस्कार स्थापना गरेको जिल्ला अध्यक्ष सुनारले बताउनुभयो । उक्त रकमको ब्याजबाट लुम्बिनी प्रदेशमा सामाजिक रुपान्तरणका लागि कलम चलाएका पत्रकारहरुलाई प्यूठानबाट सम्मान गरिने उहाँले बताउनुभयो ।
