प्यूठान । विजुवारमा स्थापना गरिएको आखाँ उपचार केन्द्र (प्रस्तावित नरेन्द्र–गायत्री आखाँ अस्पताल)ले यहाँका सेवाग्राहीलाई उपचारमा सहजता भएको छ । आखाँ उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, रण अम्बिका शाह आखाँ अस्पताल भैरहवा अन्तर्गत आखाँ उपचार केन्द्र संचालनमा ल्याईएको नेपाल नेत्रज्योति संघ प्यूठानका अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले बताउनुभयो । ‘नेत्रज्योति संघ केन्द्रीय समिति, सेवा फाउण्डेसन र जिल्लाका पालिकाकाहरुको सहयोगमा आखाँ उपचार केन्द्र संचालन गर्दै आएका छौं ।’ ,उहाँले भन्नुभयो, ‘मासिक रुपमा विशेषज्ञ सेवा समेत दिँदै आएकोले उपचारमा थप सहजता भएको छ ।’ केन्द्रसँग सम्झौता गरेर पालिकालेहरुले जेष्ठ नागरिकहरुको आखाँ उपचारमा सहकार्य गर्दै आएका छन् ।
आखाँको सामान्य उपचारदेखि पर्दाको समस्या, मोतियाविन्दु शल्यक्रिय सेवा, जलविन्दुको उपचार सेवा प्रदान गर्दै आएको कार्यालय प्रमुख नेत्र सहायक लक्ष्मी मल्ल ठकुरीले बताउनुभयो । ‘आ.व. २०८१/८२ का उपचार केन्द्रबाट १८ हजार २९८ जनाले सेवा लिएका छन् ।’ ,उहाँले भननुभयो, ‘नेत्र सहायकको नेतृत्वमा १२ जना कर्मचारीबाट सेवाप्रवाह हुँदै आएको छ ।’ चालु आर्थिक वर्षको हालसम्म ५ हजार ३३४ जनाले सेवा लिएको उपचार केन्द्रले जनाएको छ ।
उपचार केन्द्रबाट मासिक रुपमा विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ । लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानबाट आउने विशेषज्ञबाट शल्यक्रिया सेवा समेत उपलब्ध हुने गरेको छ । जटिल प्रकृतिका विरामीलाई उपल्लो निकायमा रिफर गर्ने गरेको प्रमुख ठकुरीले बताउनुभयो ।
केन्द्र संचालनका लागि केन्द्रीय समितिबाट बार्षिक ३ लाख रुपैंया सहयोग प्राप्त हुने गरेको नेत्रज्योति संघ प्यूठानले जनाएको छ । विरामी दर्ता वापत ८० रुपैंया शुल्क लिने गरेको उपचार केन्द्रबाट न्यूनतम मुल्यमा औषधी र चस्मा उपलब्ध हुन्छ ।
उपचार केन्द्र मार्फत स्थानीय पालिकाले जेष्ठ नागरिकहरुलाई निःशुल्क उपचार वापत सहयोग प्रदान गर्दै आएका छन् । मल्लरानी, झिमरुक, नौबहिनी, ऐरावती, माण्डवी, गौमुखी गाउँपालिका र प्यूठान नगरपालिकाले जेष्ठ नागरिकको आखाँ उपचारका लागि सहयोग गर्दै आएका हुन् । नेत्रज्योति संघ प्यूठानकै पहलमा गौमुखी गाउँपालिकाको ठूलावेशी र स्वर्गद्धारी नगरपालिकाको भिंगृमा आखाँ उपचार केन्द्र संचालनमा छ । यस वर्षदेखि मल्लरानी गाउँपालिकाको खलंगामा उपचार केन्द्र विस्तार हुँदैछ ।
प्यूठान नगरपालिका–४ विजुवारका स्थानीय नरेन्द्र श्रेष्ठको परिवारले ५ रोपनी ४ आना जग्गा निःशुल्क उपलब्ध गराएपछि यहाँ भवन समेत निर्माण गरिएको छ । केन्द्रको स्थापना २०६४ सालमा गरेको हो ।
