प्यूठान । गत कात्र्तिक ५ गते गौमुखी गाउँपालिका–५ वख्ले प्यूठानका बसन्त पाण्डे, आत्महत्या गरेको अवस्थामा भेटिए । डेढ वर्ष पहिले उनको श्रीमती विजुलाको पनि एक्कासी ज्यान गएको थियो । एक छोरा र एक छोरीका बुवा–आमाको नै ज्यान गएपछि उनीहरु अभिभावक विहिन भएका छन् ।
ज्याला मजुरी गरेर घरगुजारा चलाउँदै आएका पाण्डे दम्तपत्तिले अभाव कै कारण ज्यान गुमाउनु परेको स्थानीय अगुवा बताउँछन् । ‘३२ वर्षिय बसन्त पाण्डेले गरिबीको कारण इन्छा–मृत्यु रोजेका छन् ।’ ,प्यूठान उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका स्थानीय सामाजिक अगुवा ज्ञामुराम न्यौपानेले फेसवुक स्टाटसमा लेख्नुभएको छ, ‘उनकी श्रीमती विजुला पाण्डे घरमा खाने अन्नसम्म नभएको अवस्थामा गतवर्ष २०८१ साल जेठ १३ गते एक्कासी बितेकी थिइन् ।’ गरिबी र अभावबाट कुनै निकास नभेटेपछी पाण्डेले मृत्युको बाटो रोजेर सिङ्गो समाज माथि प्रश्न चिन्ह उठाएको न्यौपाने बताउनुहुन्छ ।
१३ वर्षिय छोरा नविन र ९ वर्षिय छोरी नविना अहिले अभिभावक विहिन भएका छन् । उनीहरु जनसहयोगी माध्यमिक विद्यालय खुङमा क्रमशः कक्षा ५ र ४ मा अध्ययनरत छन् । ‘सहयोग जुटाएर अभावमा रहेका पाण्डे परिवारको गतवर्ष आवास निर्माण गरिदिएका थियौं ।’ ,वडा अध्यक्ष बरुणध्वज मल्लले भन्नुभयो, ‘दुई÷चार छाक टार्ने जोहो भन्दा उनीहरुको पढाईको लागि दिर्घकालिन उपाय खोज्नुपर्ने भएको छ ।’ आमा विजुलाको उपचार अभावका कारण ज्यान गएको उहाँले बताउनुभयो । ‘विरामी परेकी रहिछन्, अभावका कारण कसैसँग भनिन् अनि ज्यान गयो ।’ ,वडाध्यक्ष मल्लले भन्नुभयो ।
यो त एउटा प्रतिनिधि घटना मात्र हो । प्यूठानमा आत्महत्या गर्नेको संख्या अधिक छ । तर आत्महत्या न्यूनिकरणका लागि कुनै पनि निकायबाट ठोस पहल भएको पाईदैन । पारिवारिक कलह, मादक पदार्थ सेवन, बेरोजगार, मानसिक तनाव, गरिबी, प्रेममा धोका जस्ता कारणले आत्महत्याका घटना हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्याङ्क अनुसार आ.व. २०८०/८१ मा झुण्डिएर ७८ र विष सेवन गरी १ गरी ७९ जना, २०८१/८२ मा झुण्डिएर ७३ र विष सेवन गरी ५ गरी ७८ जना र चालु आर्थिक वर्षको हालसम्म झुण्डिएर ११ र विष सेवन गरी २ जना गरी १३ जनाले आत्महत्या गरेका छन् ।
विगतका तथ्याङ्क हेर्दा पनि प्यूठानमा आत्महत्याका घटना अधिक छन् । आ.व. २०७५/७६ मा ६८, र ०७६/७७ मा ६३, २०७७/७८ मा ११०, २०७९/८० मा ७४ जनाले आत्महत्या गरेका छन् ।
