प्यूठान । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्यूठानमा चुनावी सरगर्मि उत्कर्षमा पुगेको छ । मतदानको मिति नजिकिँदै गर्दा चुनावी माहोल समेत रोचक बन्दै गएको छ । दलहरु आ-आफ्ना एजेण्डा सहित मतदाता समक्ष पुगि रहेका छन् ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा एक स्वतन्त्र सहित ७ जना उम्मेदवार छन् । मुख्य प्रतिष्पर्धा भने नेकपा (एमाले) र सत्ता गठबन्धन वीच नै हुने देखिएको छ । नेकपा (एमाले)का तर्फबाट पोलिटव्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा र गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल नै मुख्य प्रतिष्पर्धीका रुपमा देखिएका छन् ।
२०७० को संविधान सभा निर्वाचनमा चौथो दलको हैसियतमा रहेको एमालेले दुवै क्षेत्रमा जित निकाल्न सफल भएको थियो । तत्कालिन एमाले उपाध्यक्ष बामदेव गौतम र हिराबहादुर केसीको चुनावी कमाण्ड सम्हालेका थापा अहिले स्वयम उम्मेदवार रहनुभएको छ । २०७४ सालको आम निर्वाचन तत्कालिन पार्टी महासचिव इश्वर पोख्रेलको चुनावी ‘कमाण्डर’ भएर सफलता हाँसिल गरेको अनुभव थापासँग छ ।
मुख्य प्रतिष्पर्धी दुर्गा पौडेलसँग दुई कार्यकाल संसदको अनुभव छ । पहिलो पटक समानुपातिक तर्फबाट र दोश्रो पटक बाम गठबन्धन (एमाले-माओवादी)को सहयोगमा प्रत्यक्ष निर्वाचत सांसदको अनुभव पौडेलसँग छ । थापा र पौडेल नै यस पटकको निर्वाचनका मुख्य प्रतिष्पर्धी हुन् ।
तीनै दुर्गालाई जिताउन मत माग्दै हिँडेको जिल्लाको प्रमुख शक्ति एमाले अहिले उनैलाई हराउन अघि बढेको छ । दुई/दुई पटक सांसद भएर प्यूठानको विकासमा उल्लेखनीय योगदान गर्न नसकेकोले यस पटक आफ्नो पक्षमा जीत पक्का हुने एमालेको ठम्याई छ ।
गठबन्धननै जीतको मुख्य आधार भएको भन्दै सत्ता गठबन्धनका दलहरु समेत चुनावी कार्यक्रममा केन्द्रित छन् ।
को हुन् सूर्य थापा ?
राजनीति, पत्रकारिता, समाजसेवा लगायतका क्षेत्रमा बहुआयामिक क्षमता भएका सूर्य थापाको विगत जति गर्विलो छ, भविष्य पनि उस्तै उज्वल छ । किनभने उहाँसँग जनताको जीवन बदल्ने सुन्दर सपना र दृढ अठोट छ । त्यही सपना र अठोट पूरा गर्नका लागि उहाँलाई जनताको अपार साथ छ । त्यो साथ यसपटक प्यूठानी जनताले मतद्वारा पुष्टि गर्नेछन् । र, जनताको सेवा गर्न संघीय संसदमा पुर्याउनेछन् ।
संक्षीप्त परिचय
निडर, हक्की र प्रष्ट वक्ता सूर्य थापा नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य हुनुहुन्छ । विगतमा पार्टीको प्रचार, पर्यटन लगायतका क्षेत्रमा अनेक भुमिकामा रहेर योगदान गर्नु भएका उहाँ अहिले आफ्नै गृह जिल्ला प्यूठानको इञ्चार्ज समेत हुनुहुन्छ । आफ्नो जिल्लाका जनताको सेवक बन्ने पुरानो सपना पूरा गर्ने नयाँ नयाँ योजना बनाउन तल्लीन हुनुहुन्छ ।
सामान्य किसान परिवारमा जन्मिनुभएका उहाँको जन्म २०३१ साल साउन ८ गते झिमरुक गाउँपालिका- १, सौतामारे काभ्रेखोलामा भएको हो । उहाँका पिता स्वर्गिय खेतबहादुर थापा र माता खिमाकुमारी थापा हुनुहुन्छ ।
राजनीतिक क्षेत्रमा विभिन्न भूमिकासंगै प्यूठान विकास मञ्चको अध्यक्ष भएर प्यूठानको विकास प्रक्रियाको संयोजनका लागि ऐतिहासिक पहलहरु गर्नुभएका उहाँले देश र दुनियाँ बुझ्ने गरी अनेक देशहरुको भ्रमण गर्नुभएको छ । र, महत्वपूणर् अनुभव बटुल्नु भएको छ । उहाँले अहिलेसम्म देशका ७५ जिल्ला र विश्वका दुुई दर्जन भन्दा बढी देशको भ्रमण गर्नुभएको छ ।
राजनीतिमा रफ्तार
सानो उमेरदेखि नै राजनीतिक चेतना र जागरणबाट प्रभावित उहाँको राजनीतिक यात्रा २०४३-२०४४ मा अर्घाखाँचीमा विद्यार्थी आन्दोलनबाट शुरु भएको हो । विद्यार्थी आन्दोलनदेखि जनविरोधी कठोर व्यवस्था परिवर्तनका आन्दोलनहरुमा सधै सक्रिय उहाँले विगतमा पार्टी, जनसंगठन र विभिन्न मोर्चाहरुमा रहेर अनेक नेतृत्वदायी भूमिका खेल्नुभएको छ ।
यी तथ्यहरुले उहाँको राजनीतिक यात्रालाई सरसर्ती प्रस्तुत गर्दछन्- २०४३-२०४४ मा अर्घाखाँचीमा अध्ययनरत रहँदा अनेरास्ववियु (एकताको पाँचौं)मा सक्रिय, २०४९ मा काठमाडौँको कैलाशकुट बहुमुखी क्याम्पसको स्ववियु सभापति, २०५३-०५४ मा नेकपा (एमाले) पार्टी-पत्रकार केन्द्रीय फ्याक्सन सदस्य, २०५४-०५५ मा संचार इलाका कमिटीको सदस्य, २०५५-०५६ प्यूठान-काठमाडौं सम्पर्क मञ्चको सचिव, २०५५-०५९ मा प्यूठान-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष, २०५५-०५९ मा राप्ती-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष, २०५७-०५९ मा पे्रस चौतारी नेपाल केन्द्रीय फ्याक्सनको सदस्य, २०५९-२०६५ मा नेपाल पत्रकार महासंघ केन्द्रीय फ्याक्सनको सचिव, २०५९-०६४ मा नेकपा (एमाले) केन्द्रीय प्रचार विभागको सदस्य, २०६४-०७१ मा केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिव, २०७१ मा पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य, २०७१ मा केन्द्रीय प्रचार विभाग उपप्रमुख तथा प्रचार सम्बद्ध संगठन सह-इन्चार्ज, २०७१ मा केन्द्रीय पर्यटन प्रवद्र्धन विभाग प्रमुख तथा पर्यटन सम्बद्ध संगठनहरुको इन्चार्ज, २०७५-२०७७ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागको उपप्रमुख, २०७७-२०७९ मा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग उपप्रमुख, २०७८-२०७९ मा पे्रस चौतारी नेपालको इन्चार्ज । उल्लेखित जिम्मेवारीहरुमा रहँदा उहाँले कुशलतापूर्वक कार्य सम्पादन गर्नुभएकोले नै आजको स्थापित व्यक्तित्व निर्माण भएको छ ।
कुशल लेखक, कुशल सम्पादक
समाजशास्त्रमा स्नातकोत्तर सूर्य थापाले र व्यवस्थापन र कानुनमा स्नातक तहसम्म अध्ययन गर्नु भएकोछ । नेपाल पे्रस इन्स्टिच्युसबाट पत्रकारितामा डिप्लोमा तालिम लिनु भएका उहाँले विभिन्न विधाका आधा दर्जन कृतिहरु लेख्नुभएको छ । तीमध्ये विश्वमा राजतन्त्र ः उत्थान, पतन र भविष्य, नेपालमा राजतन्त्र र दलहरुबीचको संघर्ष, राजतन्त्रको अर्थराजनीति, नेपालमा गणतन्त्रको स्थापना र राज्यको पुनःसंरचना लगायतका कृतिहरु चर्चित छन् ।
उहाँले दर्जनभन्दा बढी पुस्तकहरु सम्पादन गर्नुभएको छ । तीमध्ये केही हुन— तुल्सीलाल अमात्यको जीवनयात्रा ः अविश्रान्त राजनायक, यदु गौतमको जीवनयात्रा र स्मृतिमा आधारित पुस्तक ः सलाम सहयोद्धा, संसदमा गर्नुभएका सम्बोधनहरुको संग्रह ः संसदमा मदन भण्डारी (विचार संग्रह), व्यक्तित्वमा आधारित पुस्तक संघर्षशील योद्धाहरु, युवा ः आन्दोलन र अनुभव, साहित्यकार अग्निशिखाको जीवनयात्रा ः सलाम कलमयोद्धा, मदन भण्डारी ः संकलित रचनाहरु (सात भाग), मदन भण्डारी ः छानिएका रचनाहरु, Madan Bhandari : Selected Works, नेपालमा पर्यटन ः विकास र समृद्धिको आधार ।
पत्रकारिता यात्रा
स्पष्ट वक्तासँंगै सूर्य थापामा स्पष्ट लेख्ने क्षमता रहेको छ । २०४९ मा पत्रकारिता थालेदेखि उहाँले विभिन्न सञ्चार माध्ययमहरुमा नेतृत्वदायी भूमिकामा रहेर पत्रकारिता क्षेत्रमा योगदान पुर्याउनु भएको छ । पार्टीका प्रकाशनदेखि सरकारी र निजी क्षेत्रका सञ्चार माध्ययमहरुसम्म उहाँले योगदान गर्नुभएको छ । त्यस्ता मिडियाहरुमा संवाददातादेखि प्रधानसम्पादक र प्रकाशकसम्मको अनुभव उहाँले हासिल गर्नुभएको छ ।
उहाँले अनुभव संगालेका प्रमुख मिडियाहरु हुन्- अभिमान त्रैमासिक, दृष्टि साप्ताहिक, बुधबार साप्ताहिक, नवयुग मासिक, घटना र विचार कार्यक्रम (रेडियो नेपाल), परिवेश कार्यक्रम (रेडियो नेपाल), रातो फूलबारी स्मारिका आदि । अहिले पनि उहाँले पत्रपत्रिकाहरुमा लेख रचनाहरु लेखिरहनु हुन्छ ।
लेखनसंगै पत्रकारिताको संस्थागत विकासमा पनि उहाँको योगदान छ । उहाँ २०५७-०५९ मा पे्रस चौतारी नेपालको केन्द्रीय सचिव हुनुभयो । २०६२-०६५ मा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । २०६१-०६५ मा साप्ताहिक-पाक्षिक पत्रिका संघर्ष सञ्जालको केन्द्रीय सचिव भएर शाही निरंकुशता विरुद्धको आन्दोलनमा कुशल क्षमता प्रदर्शन गर्नुभयो ।
राजकीय जिम्मेवारी
सूर्य थापाले नेपालको राजकीय क्षेत्रको पनि उत्तिकै र गज्जवको अनुभव हाँसिल गर्नुभएको छ । २०६१ सालमा उहाँ तात्कालीन उपप्रधानमन्त्री भरतमोहन अधिकारीको संचार परामर्शदाता (सल्लाहकार) हुनुभयो । २०६७-०६८ सम्म तात्कालीन प्रधानमन्त्री झलनाथ खनालको पे्रस सल्लाहकार हुनुभयो । २०७६ देखि २०७८ सम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पे्रस सल्लाहकार रहनुभयो । ती सबै अवधिमा उहाँले महत्वपूणर् अनुभव संगाल्नु भयो र अनेक परिणाममुखी योगदान गर्नुभएको छ ।
सम्मान तथा पुरस्कार
जीवनमा सूर्य थापाले विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँ २०५२ मा सामाजिक विकास सम्बन्धी विश्व शिखर सम्मेलन (कोपेनहेगन)को बारेमा आयोजित राष्ट्रिय निबन्ध प्रतियोगितामा प्रथम हुनुभयो । २०५९ सालमा यदु स्मृति पत्रकारिता पुरस्कार र २०७६ सालमा कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार प्राप्त भएको छ ।
विकासप्रेमी नेता
जिल्लाको अति दुर्गम र सीमावर्ती गाउँमा जन्मिनुभएका कारणले पिछडिएका गाउँ र क्षेत्रहरु प्रति उहाँको विशेष चासो र ध्यान पुग्ने गरेको छ । चाहे अर्खामा मोटरबोटो पुर्याउन होस् वा स्वर्गद्वारी धामसम्मको सडक निर्माणलाई सफल पार्न निणर्यक रुपमा बजेट विनियोजनको नेतृत्व उहाँले गर्नुभएको छ । मदन भण्डारी राजमार्ग (NH9) र मदन भण्डारी (NH19) ले प्यूठानलाई छिचोल्ने गरी रेखाङ्कन टुंग्याउन उहाँले महत्वपूणर् भूमिका खेल्नुभएको विदितै छ । झुलेनी, लिस्ने भञ्ज्याङ हिल स्टेशनको पूर्वाधार विकासमा उहाँको अगुवाई स्पष्ट छ । र, स्वर्गद्धारी गौमुखी पदमार्गको खाका कार्यान्वयनमा पहलकदमीमा थुप्रै कामहरु सम्पन्न भएका छन् । पर्यटनमा आधारित विकास प्रक्रियाको लागि उहाँको पहलमा थुप्रै गन्तव्यहरुको विकास र प्रवद्र्धन कार्य अघि बढेको स्पष्टै छ । जबकी उहाँ जनप्रतिनिधिको भूमिका लागि पहिलो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा प्रस्तुत हुनुभएको छ । काठमाण्डौंमा रहँदा प्यूठान विकास मञ्चको अध्यक्षका हैसियतमा विभिन्न पक्षबीच समन्वय र सहकार्यको उहाँले नेतृत्व गर्दै आउनुभएको छ ।
को हुन् दुर्गा पौडेल ?
२०२८ असोज ५ गते कपिलवस्तुमा जन्मनुभएकी दुर्गा पौडेलको स्थायी ठेगाना झिमरुक गाउँपालिका-५ ओखरकोट, प्यूठान हो । नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंहसँग २०५७ मा वैवाहिक सम्बन्धमा बाँधिनुभएकी उहाँ स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । २०४० सालमा अनेरास्ववियु छैटौंबाट राजनीतिमा आवद्ध उहाँले अखिल नेपाल महिला संघको कोषाध्यक्ष, उपाध्यक्ष र अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
हाल राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष रहनुभएकी पौडेल २०७० को दोस्रो संविधानसभामा समानुपातिक सभासद र २०७४ मा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ २०५६ को आम निर्वाचनमा कपिलवस्तु र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं-१ बाट उम्मेदवार हुनुभएको थियो ।
मुख्यतः कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को साथ पाएकाले पौडेलको लागि सहजता थपिएको छ । एमालेको बलियो संगठन र एकताबद्ध चुनावी अभियान भने उहाँको लागि प्रतिकूलता हो ।
यस्तो छ मतको आँकडा
गत स्थानीय तह निर्वाचनको नतिजामा एमालेको भन्दा सत्ता गठबन्धन ११ हजार मतले अगाडि छ । प्यूठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ । जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार ५६४ मत मात्रै पाएको छ ।
१० वटा वडा जितेको माओवादी केन्द्रले १७ हजार १६३ मत र १० वटा वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ६१२ मत प्राप्त गरेको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवारले २ हजार ८५० मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले १ हजार ४१७ मत पाएको थियो ।






