> समाज > विदेशबाट आएका सवैको हुन्छ त ‘र्‍यापिड टेष्ट’ ?


विदेशबाट आएका सवैको हुन्छ त ‘र्‍यापिड टेष्ट’ ?

प्यूठान, २८ चैत्र ।
सरकारले कोराना भाईरसको संक्रमण भए/नभएको निश्चित गर्न ‘र्‍यापिड टेष्ट’ शुरु गरेको छ । प्यूठानमा आएको १०० वटा ‘र्‍यापिड डाईनोष्टिक टेष्ट (आरडिटी)’बाट शुक्रवार क्वारेन्टाईनमा बसेका ११ जनाको परीक्षण गरिएको छ ।

स्वर्गद्धारी नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बसेको उनीहरुमा संक्रमण नदेखिएपछि घर पठाइएको छ । अब, विदेशबाट जिल्ला भित्रिएका सवैको परीक्षण हुन्छन् त ? भन्ने जिज्ञासा बढेको छ ।

प्रारम्भिक चरणमा क्वारेनटाईनमा बसेकोहरुको परीक्षण पश्चात अरुमा क्रमशः हुने जिल्ला स्वास्थ्य कार्यालय प्यूठानमा प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । आजै ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले १२ वटै जिल्लाका प्रमुखहरुसँग ‘भिडियो कनेक्सन’ मार्फत बैठक गर्नुभएको छ । बैठकमा प्रमुख सुवेदीले जिल्ला भित्रिएका सवैको प्रारम्भिक परीक्षण गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको थियो ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री बरालले पहिलो चरणमा क्वारेन्टाईनमा बसेकाहरुको परीक्षण गर्ने र यसलाई विस्तारै बढाउँदै लैजाने तयारी रहेको बारे जानकारी दिनुभएको प्रमुख सुवेदीले बताउनुभयो । ‘उहाँ(मन्त्री)ले नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरु पनि जिम्मेवार हुनुपर्ने भएकोले त्यसको अनुगमन गर्न निर्देशन दिनुभएको छ ।’ ,प्रमुख सुवेदीले प्यूठान समाचारसँग भन्नुभयो, ‘केशहरु घट्दै गए पनि क्वारेन्टाईनलाई निरन्तरता दिन स्थानीय तहसँग समन्वय गर्नु भन्नुभएको छ ।’

तीन हजार बढि आए विदेशबाट
प्यूठानमा भारत तथा तेश्रो मुलुकबाट गरी ३ हजार १६२ जना जिल्ला भित्रिएका छन् । ३ हजार ८८ जना भारत र ७४ जना तेश्रो मुलुकबाट आएका हुन् ।

प्यूठान नगरपालिकामा ४४२, स्वर्गद्धारी नगरपालिकामा ७३८, सरुमारानी गाउँपालिकामा २६३, ऐरावती गाउँपालिकामा ४३९, माण्डवी गाउँपालिकामा ६८८, नौबहिनी गाउँपालिकामा ९६, मल्लरानी गाउँपालिकामा २७९, झिमरुक गाउँपालिकामा १३६ र गौमुखी गाउँपालिकामा ८१ जना भित्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *