प्यूठान । मल्लरानी गाउँपालिका–४ खलंगा स्थित खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा ७ महिनापछि डाक्टरको व्यवस्था गरिएको छ । स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर अध्ययन विदामा गएपछि बैशाखदेखी डाक्टरविहीन भएको केन्द्रमा करारमा डाक्टर राखिएको हो ।
मल्लरानी गाउँपालिकाले करार सेवामा डाक्टर नियुक्त गरेर व्यवस्थापन गरेको हो । डाक्टर भोज बहादुर भण्डारी आईतबारदेखि स्वास्थ्य केन्द्रमा हाजिर हुनुभएको छ । स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा मल्लरानी गाउँपालिका सहितका विरामी सेवा पाउनबाट बञ्चित भएका थिए । संघीय सरकार र प्रदेश सरकारसँग पटक पटक माग गर्दापनि व्यवस्थापन हुन नसकेपछि गाउँपालिकाले आफ्नै स्रोतमा व्यवस्थापन गरेको जनाएको छ ।
