प्यूठान । जिल्लामा कोभिड १९ सम्वन्धी खोप सुनिश्चितताका लागि अभियान संचालन गरिने भएको छ । लक्षित उमेर समुह अन्तरगत खोप पाए नपाएको एकिङ्ग गर्नका लागि सर्वेक्षण अभियान संचालन गर्न थालिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताउनुभयो ।
खोपका लागि योग्य उमेर समुहका सवैलाई खोपको पहुँच पुर्याउने उदेश्यले सर्वेक्षण गर्न थालिएको हो । जिल्लाका सवै वडाहरुमा महिला स्वास्थ्य स्वयमसेविकाहरु मार्फत सर्वेक्षण कार्य अगाडी बढाउन थालिएको स्वास्थ्य प्रमुख खड्काले जानकारी दिनुभयो । सर्वेक्षण अभियानका लागि मंगलवार स्थानीय पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुका लागि अभिमूखिकरण दिइएको छ । “यो संगै प्रत्येक पालिका स्तरमा स्वास्थ्य संस्थाका प्रमुख र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई अभिमूखिकरण दिइने छ” स्वास्थ्य प्रमुख खड्काले भन्नुभयो, “त्यस लगत्तै सर्वेक्षणको कार्य अगाडी वढ्ने छ ।” फागुन महिना भित्रमा सर्वेक्षणको कार्य सम्पन्न गर्ने गरि कार्य योजना अगाडी बढाएको उहाँले जानकारि दिनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल सम्म ७८ दशमलव ३ प्रतिशतले पूणर् खोपको मात्रा पाएका छन् । यस्तै पहिलो खोपको प्राप्त गर्नेको संख्या ८७ दशमलव ५ प्रतिशत रहेको छ । ११ दशमलव ६ प्रतिशतले बुस्टरडोज पाएका छन् ।
स्वाथ्य कार्यालय, स्थानीय तह तथा सुआहारा कार्यक्रमको सहकार्यमा अभियान संचालन गर्न थालिएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन निरिक्षक कौशलराज वैद्यले बताउनुभयो । सर्वेक्षणका लागि महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका, स्थानीय खोप प्रगति विश्लेषण तथा समिक्षा लगाएत कार्यक्रममा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग रहने सुआहारा दोस्रो चरण कार्यक्रमका संयोजक भरत प्रसाद भट्टले बताउनुभयो । कोभिड‐१९को खोप पहुँच बृद्धि तथा सचेतना जगाउने उद्येश्यले जिल्लाका ७ पालिकामा थप कर्मचारीको व्यवस्थापन समेत गरेको उहाँको भनाई छ ।
जिल्लामा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र मार्फत सुआहारा कार्यक्रम विगत वर्ष देखि संचालन हुदै आएको छ । स्वास्थ्य तथा पोषण सेवा संगै कोभिड १९को प्रकोप न्यूनिकरणका लागि सुरक्षा सामाग्री, खोप ढुवानी तथा सचेतना जस्ता क्रियाकलापहरुमा कार्यक्रमको सहयोग हुदै आएको कार्यक्रमका फिल्ड संयोजक नारायणलाल श्रेष्ठले बताउनुभयो ।