> आर्थिक/बिकास > प्यूठानकै सर्वाधिक उचाई र लम्बाईको पुलले अर्खा–रजवारा जोड्दै


प्यूठानकै सर्वाधिक उचाई र लम्बाईको पुलले अर्खा–रजवारा जोड्दै

गौमुखी निर्माणाधिन झोलुङ्गे नजिक लाठी टेक्दै दैनिक कम्तिमा एक पटक आउँनुहुन्छ अनि लामो सास फेर्दै फर्कनुहुन्छ, गौमुखी गाउँपालिका–१ अर्खाका तुलबहादुर थापा । उमेरले ९० नाघि सक्नुभएका थापालाई कहिले पुल निर्माण सम्पन्न हुन्छ भन्ने हुटहुटी छ ।

 

अ‍ैंचो–पैंचो देखि छोरी–बुहारी लैजाने–ल्याउने सम्मको मनको साईनोले घनिष्ट सम्वन्ध गाँसिएको दुई गाँउ हो, अर्खा–रजवारा । ‘हेर्दा आँखै अगाडी गाउँ छ ।’ ,९० वर्षिय थापाले भन्नुभयो, ‘एकै छिन भेटौ भने पनि जान–आउन दिनभर लाग्छ ।’ भौगोलिक कठिनाईका कारण लामो भएको दुरीलाई झोलुङ्गे पुल निर्माणले छोटो बनाउँदैछ ।

दुई डाँडा जोड्ने गरी छिमेकी जिल्ला बाग्लुङ, पर्वतमा यस्ता पुल निर्माण भएको सुन्ने र देख्ने गरेका यहाँका स्थानीयहरु आफ्नै आँखा अगाडी पुल निर्माण हुन थालेपछि हर्षित भएका छन् ।

 

गौमुखी गाउँपालिकाका वडा नं. १ अर्खा लामिडाँडा र वडा नं. ३ रजवारा देउराली जोड्ने गरी झिमरुक नदि माथी झोलुङ्गे पुल निर्माण कार्य धमाधम भैरहेको छ । ३७४ मिटर लामो यो पुल १८० मिटर अग्लो रहेको छ । पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न १ घण्टा ३० मिनेट कम समय लाग्ने गौमुखी गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएका स्थानीय महावीर रानाले बताउनुभयो ।

 

मंसिर महिना भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि यहि जेठ महिना भित्रै निर्माण कार्य सक्ने निर्माण कम्पनीको दावी छ । सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोक ललितपुरसँग अपर तामाकोसी जेभी कम्पनीले कुल २ करोड ७२ लाख ७४ हजार रुपैयाँ लागतमा निर्माणको सम्झौता गरेको हो ।

 

प्रतिनिधि सभा सदस्य सूर्य थापाले २०८१ मंसिर १३ गते यो पुलको शिलान्यास गर्नुभएको थियो ।

 

पर्यटनसँग जोड्न सकिने

साविकका अर्खा र रजवारा गाविसका स्थानीयलाई आवत जवात गर्न सुविधा पुग्ने यस झोलुङ्गे पुललाई यहाँको पर्यटनसँग जोड्न सकिन्छ । अग्लो स्थान र लामो दुरीका झोलुङ्गे पुलहरु मध्यको यो पुल देशकै उत्कृष्ठ १० भित्र पर्ने सम्भावित पुल हो । गौमुखी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यस झोलुङ्गे पुललाई पनि एक गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । विशेषगरी फोटो र भिडियो सुट गर्नका लागि यो उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

 

सिंगल स्पानमा विश्वकै लामो झोलुङ्गे पुल कालिगण्डकी नदिको बाग्लुङ्ग र पर्वत जोड्ने पुललाई मानिन्छ । गण्डकी स्वर्णिय झुला नाम दिईएको उक्त पुलको लम्बाई ५६७ मिटर छ ।

 

त्यस्तै बाग्लुङ–४ गौरीधामदेखि पर्वतको जलजला–८ नाग्लिवाङ जोड्ने गरी कालीगण्डकी नदी माथि तयार भएको ५२४ मिटर लामो विश्वकै दोस्रो लामो झोलुङ्गे पुल दावी गरिएको छ ।

 

विश्व ईतिहासमा स्विट्जरल्याण्डमा ४९७ मिटर लामो सिङ्गल स्पानको झोलुङ्गे पुल विश्वकै सबैभन्दा लामो थियो ।

मित्र थापा
लेखक मित्र थापा प्यूठान समाचार सम्वाददाता हुनुहुन्छ ।