> विचार > माण्डवीवासीलाई खाद्यान्नको अभाव हुन दिदैनौं


माण्डवीवासीलाई खाद्यान्नको अभाव हुन दिदैनौं

१) सरकारले लक डाउनलाई थप कडाई गरको छ ? त्यसका लागि माण्डवी सरकारले कसरी काम गर्दैछ ?
विश्वव्यापी संक्रमणको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण कम गर्न एक मात्र विकल्प भनेको लक डाउन हो । लक डाउन कार्यान्वयनको विकल्प नभएको यस अवस्थमा हामीले पनि लक डाउन पूर्ण कार्यान्वयनका लागि स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि र माण्डवीवासीहरुको सहयोगमा यसको महत्वका बारे बुझाउने र घरबाट ननिस्कन आग्रह गर्दै आएका छौं । कोरोना भाईरसका बारेमा माईकिङ, पर्चा, एफ.एम. रेडियो मार्फत प्रचारप्रसार गर्दै आएका छौं ।
आजै(आईतबार) बसेको आकष्मिक कार्यपालिका बैठकले पाँच वटै वडामा स्वयमसेवक परिचालन गर्ने निर्णय गरेका छौं । प्रत्येक बस्तीमा २ जनाका दरले ८० जना स्वयमसेवक परिचालन हुदैछन ।
स्थानीयवासीहरुलाई जानकारी गराएर उहाँहरुकै सहयोगमा लक डाउन सफल बनाउने छौं । बालि भित्र्याउने वेला भएकाले सामाजिक दुरी लगायतका सुरक्षाका उपाय अपनाएर मेलापातमा जान पनि सुझाव दिएका छौं ।

२) लक डाउनकै कारण समस्यामा परेका ज्यालादारी श्रमिक, असहायको पहिचान र राहत वितरण के कसरी हुँदैछ ?
दैनिक ज्यालादारी श्रमिकहरु काममा जान नपाएर जसलाई छाक टार्न मुस्किल भएको छ उनीहरुलाई पहिलो चरणमा १२५ जनालाई १५ दिन पुग्ने खाद्यान्न उपलब्ध गराई सकेका छौं । लक डाउन लम्बिन सक्ने असंगठित मजदुर, असहाय, एकल महिला, बृद्धबृद्धा, अपा∙हरुको सवै वडाहरुमा पहिचान गरिसकेका छौं । त्यसको लगत पनि तयार भएको छ । त्यस्तो परिवारको संख्या पाँच सय ११ रहेको छ । उनीहरुका लागि दोश्रो चरणको राहत वितरणको तयारी गर्दैछौं । संघीय सरकार र प्रदेश सरकारले केहि राहतका प्याकेज घोषणा गर्दैछ । लक डाउनको अवधिलाई मध्यनजर गर्दै खाद्यान्न उपलब्ध गराउने छौं । माण्डवीवासीलाई खाद्यान्नको अभाव हुन दिनेछैनौं ।

३) क्वारेन्टाइनको अवस्था के हो ? बाहिरबाट आएका कति हुन ? कति बसेका छन् ? किन बस्न मानेनन ?
दुई स्थानमा २० वेडको क्वारेन्टाइन स्थापना गरेका छौं । भवानेश्वरी आधारभुत विद्यालय नयाँगाउँ जस्पुरमा १० र बहुउद्देश्यीय सभाहल देविस्थानमा १० बेड क्वारेन्टाइन छन् । कवारेन्टाईनमा अहिले ४ जना छन् । गौरीफन्टा नाका भएर भारतबाट आएका मध्ये सुदुरपश्चिम प्रदेशमा दुई जना संक्रमित भेटिएकोले त्यहि समुहमा आएका १ जनालाई माण्डवी ४ का २६ वर्षिय युवा रहेका छन् । उनलाई पनि क्वारेन्टाईनमा राखिएको छ । स्वाब परीक्षणका लागि पठाउने तयारी भैरहेको छ ।
माण्डवी गाउँपालिकामा भारत र दोश्रो मुलुक गरी कुल ६८८ जना चैत्र ४ गते यता गाउँपालिकामा भित्रिएका छन् । उनीहरु सबै हाम्रो निगरानीमा छन् ।
चेतना अभावका कारण मानिसहरु क्वारेन्टाइनमा बस्न नचाहेको देखिन्छ । यो संक्रमण सवैलाई नदेखिन पनि सक्छ । संक्रमित व्यक्तिमा लक्षण नदेखिए पनि अरुलाई सर्छ भन्ने कुरा बुझ्न जरुरी छ । क्वारेन्टाईनमा बस्दा आफ्नो पनि सुरक्षा हुन्छ र अरुको पनि । सुरक्षित तरिकाले राख्ने वन्दोवस्त मिलाएका छौं । विहान चिया खाजा, दिउँसा खाना, दिउसो खाजा, साझ खानाको व्यवस्था समेत गरिएको छ ।

४) अहिलेको महामारीमा जनताले स्थानीय सरकारको अनुभुती गर्न पाए त ? कसरी ।
महामारीको यस परिस्थितिमा हामीले स्थानीय सरकारको महसुस हुने गरी सेवा प्रदान गरेका छौं जस्तो लाग्छ । भारत तथा अन्य देशबाट आएका ६८८ जना प्रत्येक व्यक्तिलाई भेटेर स्वास्थ्य स्थितिको जानकारी लिएका छौं । महिला स्वास्थ्य स्वयमसेविकाले उहाँहरुको निगरानी गरिरहुन भएको छ । स्वास्थ्य अवस्था बारे स्वास्थ्य संस्था हुँदै गाउँपालिकाको स्वास्थ्य शाखामा नियमित जानकारी गराउने व्यवस्था गरेका छौं ।
त्यसबाहेक यो महामारीको बारेमा विभिन्न माध्यमबाट जानकारी दिने, माक्स वितरण ग¥यौं । जनप्रतिनिधिहरु हरवखत खटिई रहनुभएको छ । अपांग∙, असाय बृद्धबृद्धा, श्रमजिवी वर्ग जसलाई छाक टार्न समस्याको स्थिति सृजना भएको थियो उहाँहरुलाई तत्काल सम्बोधन गरेका छौं ।
माण्डवीवासीहरुलाई खाद्यान्न अभाव हुन नदिने गरी तयारी अवस्थामा छौं । यहाँ भएको खाद्यान्न स्टक बारे व्यवसायी साथीहरुसँगको सहकार्यमा अभिलेख लिएका छौं । नियमित अपुर्तिका लागि समन्वय गरेका छौं । अत्यावश्यक खाद्यान्न, तरकारी, औषधी, इन्धन, कृषि तथा पशुजन्य उत्पादनलाई रोक लगाईएको छैन । तर, सामाग्री सुरक्षित ढुवानी गर्नुपर्ने आवश्यकता भने छ । अभाव हुन दिँदैनौं ।
माण्डवीवासीहरुले लक डाउनको पूर्ण पालना गर्दै आउनुभएको छ । निरन्तरता दिँदै सहयोग गर्नुभएको धन्यवाद ज्ञापन गर्न चाहन्छु । सुरक्षित रहन पनि म अनुरोध गर्दछु ।

५) यो महामारी नियन्त्रणका लागि स्थानीय सरकारलाई के सहयोग आवश्यक छ ?
महत्वपूर्ण प्रश्न गर्नुभयो । सबै भन्दा पहिले महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सुरक्षा महत्वपूर्ण हुन्छ । विकसित मुलुक अमेरिकाले समेत नियन्त्रण गर्न नसकेको अवस्थामा स्थानीय सरकारले मात्र नियन्त्रण गर्न सक्दैन । हामीसँग सहजै स्वाव टेष्ट गर्ने प्रयोगशाला छैन । प्रयाप्त स्वास्थ्य सामाग्रीहरु सहज उपलब्ध छैन । भएपनि महंगो छ ।
त्यसबाहेक लक डाउन हु्ँदा विपत्त व्यवस्थापन गर्न तथा राहत वितरण कार्यक्रमको प्याकेज ल्याउँदै गर्दा सम्पूर्ण आर्थिक व्ययभार गाउँपालिकाले मात्र नसकने भएकाले हाम्रो आग्रह र उहाँहरुको सक्रियताले राहत वितरणमा यहाँका स्थानीयले हातेमालो समेत गर्नुभएको छ । खाद्यान्न, सरसफाई सामाग्री, सावुन र माक्स जस्ता जिन्सी सहयोग प्रदान गर्नुभएको छ । म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । लक डाउनको अवधि थपिँदै गर्दा भोलि आईपर्ने समस्याहरुसँग जुध्नका लागि संघीय सरकार, प्रदेश सरकार, नीजि क्षेत्र, गैससहरुको म सहयोगको अपेक्षा समेत गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!