> राष्ट्रिय > प्यूठानमा कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको प्रयास : स्वास्थ्य मापदण्ड कडाईका साथ कार्यान्वयन गरिने


प्यूठानमा कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको प्रयास : स्वास्थ्य मापदण्ड कडाईका साथ कार्यान्वयन गरिने

प्युठान, १२ बैशाख । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड कडाईका साथ कार्यान्वयन गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले अनुरोध गरेको छ ।

 

आईतबार जिल्ला समन्वय समितिको सहभाल खलंगामा भएको बैठकले यस्तो आग्रह गरेको हो ।

कोरोना भाईरसको दोश्रो लहर शुरु भएसँगै संक्रमितहरु देखापर्न थालेको भन्दै केन्द्र सहजता अपनाउन अनिवार्य माक्सको प्रयोग, नियमित हात धुने वा स्यानिटाईजर प्रयोग गर्ने र भौतिक दुरी कायम अनिवार्य गर्न आव्हान गरेको छ ।
अतिआवश्यक काम बाहेक घरबाट नकिस्न आग्रह गर्दै निस्कुन पर्ने भएमा अनिवार्य स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्नुपर्ने केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।

बैठकले जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्धारी आश्रममा नित्यपुजा बाहेक भक्तजनलाई प्रवेशमा रोक लगाउने निणर्य गरेको छ । विद्यालयमा कोरोना संक्रमण देखिएमा बढीमा १४ दिनसम्म स्थानीय तहले विद्यालय बन्द गर्न सक्ने निणर्य गरिएको छ ।

 

बैठकले सवै स्थानीय तहका आईसोलेसनलाई सक्रिय बनाउने र जिल्ला स्तरीय आईसोलेसन स्थापना गर्ने निणर्य गरेको छ । जिल्ला स्तरीय आईसोलेसन स्थापना तथा संचालनका लागि प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीको संयोजकत्वमा सवै स्थानीय तहका उपमेयर तथा उपाध्यक्ष, स्वास्थ्य कार्यालय र प्यूठान जिल्ला अस्पतालका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको छ ।

 


आईसोेलेसन केन्द्र संचालनका लागि प्यूठान जिल्ला अस्पतालका चिकित्सक सहितको टोली तयारी अवस्थामा राखिनेछ । जिल्ला अस्पतालले डा.सुदिप अधिकारीको नेतृत्वमा टिम निर्माण गरिएको जनाएको छ । कोरोना भाईरस संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *