प्यूठान । नेकपा एमालेको चर्चित चुनावी गीत‘सै पनि एमाले, मै पनि एमाले…’ गाएका बद्री पंगेनीले प्यूठानका एमालेका उम्मेदवारहरुको प्रचारका लागि चुनावी गीत गाउनुभएको छ । बद्री पंगेनी र सुनिता बुढाथोकीको स्वरमा रहेको उक्त चुनावी गीतको आज सदरमुकाम खलंगामा सार्वजनिक गरिएको छ ।
नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापाले मल्लरानी गाउँपालिका-४ खलंगाका कार्यकर्ता भेटघाट कार्यक्रमको अवसरमा उक्त गीत सार्वजनिक गर्नुभएको हो । थापाले चुनावलाई लक्षित गरेर गीत तयार गरेकोमा बद्री पंगेनी सहितको टिमलाई धन्यवाद दिनुभयो ।
प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता भएपछि असोज २४ गते झिमरुक गाउँपालिका-१ सौतामारेबाट थालेको चुनावी अभियान अहिलेसम्म २० वटा वडामा सम्पन्न भएको थापाले जानकारी दिनुभयो । ६४ वटै वडामा पुग्नुपर्ने भएकाले विहान देखि बेलुकासम्म दैनिक २/३ वटा कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
थापाले खलंगामा भएको कार्यक्रममा सदरमुकाम खलंगाको ऐतिहासिक महत्व रहेको भन्दै यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले मल्लरानीमा पर्यटकीय गन्तव्यको विकास, खलंगाको सांस्कृतिक विकास, नेवारी संस्कृतिको जगेर्ना गर्ने गरि प्रतिवद्धता जनाउनुभएको छ । उहाँले खलंगामा बहुउदेश्यीय भवन बनाउने प्रतिवद्ता जनाउनुभयाे ।
नेकपा एमालेको सरकारको पालामा एकैपटक शुरु भएको निर्वाचन क्षेत्र स्तरीय सडकको काम शुरु भएको बताउँदै त्यसले मल्लरानी गाउँपालिका र खलंगाको विकासमा टेवा पुग्ने बताउनुभयो । मल्लरानी, बुकेनी, अरवाङ, देउराली, सोलहाल्ना हुँदै अर्घाखाँची जोड्ने सडकको काम अहिले शुरु भएको छ ।