> समाज > एक सय ११ परिवारले पाए खाद्यान्न


एक सय ११ परिवारले पाए खाद्यान्न

बासुदेब गिरी
प्यूठान, २७ चैत ।
लकडाउनका समयमा ज्यालामजदुरी गर्न नपाएर दैनिक गुजारा गर्न समस्या भएका परिवारलाई प्यूठान नगरपालिकाको ९ नम्वर वडाले खाद्यान्न वितरण गरेको छ । वडा कार्यालयले विपन्न ज्यालादारी गर्ने मजदुरलाई लकडाउनको समयमा गुजारा गर्ने गरि खाद्यान्न तथा अन्य उपभोग्य सामाग्री उपलब्ध गराएको हो ।
लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका विपन्न, गरीव, दैनिक ज्यालादारी गर्ने ब्यक्तिको पहिचान गरि राहत वितरण गरेको वडा अध्यक्ष नेहरसिंह केसीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा भित्रका एक सय ११ घरधुरीले राहत पाएका छन् । जस अन्र्तगत चार सय चार परिवार सदस्य संख्या पर्छन ।
दैनिक ज्यालादारी काम गर्ने असहाय तथा विपन्न परियारको वयस्क एक जना ब्यक्ति बराबर ५ केजी बालबालिका लाई अढाई केजी चामल र नुन, तेल, तरकारी एक एक केजीका दरले प्रती ब्यक्ति उपलब्ध गराएको वडा सचिव धुर्व जिसीले जानकारी दिनुभयो । त्यसैगरी सरसफाईका लागि सावुन पनि वितरण गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार चार सय चार जनसंख्यालाई एक हजार चार सय ५० केजी चामल, एक सय ११ केजी दाल, एक सय ११ नुन, एक सय ११ लिटर तेल, एक सय पाँच केजी गोभी, र ७५ गोटा सावुन वितरण गरिएको हो ।
छुटेकाको पहिचान गरि पुनः दिने
राहत पाउनबाट छुटेका व्यक्तिको पहिचान गरि दोस्रो चरणमा वितरण गरिने वडाले जनाएको छ ।
अति गरीव, विपन्न परिवार कुनै कारणबस छुटेको भए उनिहरुको पहिचान गरि दोस्रो लटमा राहत वितरण गरिनेछ, अध्यक्ष केसीले भन्नुभयो, जसका लागि कोही सहयोगीदाता भए सम्पर्क गर्न समेत अपील गरेका छौं । राहत वितरण कार्यलाई प्रभावकारी र उपलब्धीमुलक बनाउन कार्यबिधी तयार गरि सोही अनुसार वितरण गरिएको समेत अध्यक्ष केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *