> समाज > झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली


झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

प्यूठान, २९ माघ । प्यूठानको झिमरुक गाउँपालिकाले गाउँपालिका भित्रका ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गर्दै ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम सञ्चालन गरेको छ ।

पालिका भित्र रहेका ८४ वर्षमाथिका जेष्ठनागरिकको तथ्यांक संकलन गरी कार्यक्रम सञ्चालन गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख विकास के।सी।ले जानकारी दिनुभयो । जेष्ठनागरिकलाई प्रदेश सरकार मार्फत विगतका वर्षहरुमा एक आर्थिक वर्षमा तीन पटकसम्म स्वास्थ्यकर्मीहरु घरमै गएर स्वास्थ्य जाँच गर्ने , औषधी दिने, स्वास्थ्य परामर्श गर्ने काम हुन्थ्यो । यस वर्षदेखी गाउँपालिकाले ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठनागरिकलाई कोसेली दिने कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख के।सी।ले बताउनुभयो ।

 

कार्यक्रम मार्फत गाउँपालिका भित्रका ८४ वर्ष माथिका एक सय ५० जना जेष्ठनागरिकलाई स्वास्थ्य परिक्षण संगै कोसेली उपलब्ध गराईने छ । कार्यक्रम मार्फत एक जेष्ठनागरिकलाई हरलेस, टबेल, पाउडर, साबुन, टोपी, मोजा, झोला लगायतका सामाग्रीहरु गरी दुई हजार ५ सय रुपियाँ बराबरको सामाग्री उपलब्ध गराईने स्वास्थ्य शाखा प्रमुख के।सी। ले बताउनुभयो । बुधवारबाट सुरु गरिएको यो कार्यक्रम आगामी दुई हप्तासम्म चल्नेछ । जेष्ठनागरिकहरु स्वास्थ्यसंस्था तथा पालिकासम्म आउन नसक्ने भएकाले घरमै पुगेर यो सेवा दिईने समेत उहाँले बताउनुभयो । जेष्ठनागरिकको स्वास्थ्य जाँचका क्रममा कुनै समस्या देखीएमा स्वास्थ्य संस्थामा रहेको औषधी निशुल्क रुपमा दिने र परामर्श समेत गरिने उहाँले बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि पालिकाले चालु आर्थिक वर्षमा तीन लाख ७५ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।

 

पालिका क्षेत्रभित्रका स्वास्थ्यकर्मी र पालिकाका कर्मचारी जनप्रतिनीधिको सल्लाहले यो कार्यक्रम उपयुक्त लागेपछि सञ्चालनमा ल्याईएको गाउँपालिका उपाध्यक्ष पवित्रा जिसीले बताउनुभयो । कार्यक्रम मार्फत पालिकाका ८ वटै वडा भित्रका ८४ वर्ष माथिका जेष्ठनागरिकलाई कोसेली उपलब्ध गराईने उहाँले बताउनुभयो । जेष्ठनागरिकलाई उपलब्ध गराएको कोसेली लामो समय निर्वाहका लागि नभएपनि केही टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो । कार्यक्रमको प्रभावकारीताको आधारमा आगामी वर्ष पनि समावेश गर्न सकिने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *