प्यूठान । अपांगता ऐन, नियम तथा अपांगता परिचय पत्र र अपांगताका सवाल सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपांग सेवा संघ प्यूठानको आयोजना तथा राष्ट्रिय अपांग महासंघ नेपाल काठमाण्डौको सहयोगमा जनप्रतिनिधि र अन्य सरोकारवाला निकायलाई अभिमुखिकरण गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सावित्रा घिमिरेले देशभरका ४ सय वटा संस्थाहरुको सञ्जालका रुपमा महासंघले काम गर्दै आएको बताउनुभयो । उहाँले अपांगताको हक अधिकारका लागि पैरवी, जनेचतना, क्षमता विकास लगायतका काम गर्दै आएको जानकारी दिनुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ६ लाख ४७ हजार ७ सय ४४ जना अपांगता भएका व्यक्ति छन् । यद्यपि जनगणनामा सवै प्रकारका अपांगता भएका व्यक्ति समेटिन नसकेको केन्द्रीय सदस्य घिमिरेले बताउनुभयो । उहाँले राज्यले अपांगताका लागि बनाएको विभिन्न ऐन, नियम, नियमावली अनुसार काम हुनुपर्ने बताउनुभयो ।
मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले अपांगताको क्षेत्रमा पालिकाले नियमित रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले अपांगताको क्षेत्रमा सचेतनामा मात्र जोड नदिएर आयआर्जन र जिविकोपार्जनमा काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले अझैपनि अपांगता भएका ९० प्रतिशत भन्दा बढी व्यक्ति पहुँचमा नभएको भन्दै उनीहरुको पहुँच वृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपांग सेवा संघ प्युठानका निवर्तमान अध्यक्ष जुमानसिंह के.सी.ले अपाङ्गताको प्रकार, परिचय पत्र बनाउने प्रक्रिया लगायतका बारेमा प्रस्तुति दिनुभएको थियो ।
राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष हुनाराम खड्काको अध्यक्षता, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र राउत क्षेत्रीले गर्नुभएको थियो ।