प्यूठान, २७ माघ । जिल्लाका सरोकारवालाले पत्रकार र पत्रकारिता क्षेत्र थप जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याएका छन् ।
नेपाल पत्रकार महासंघ प्यूठानको १३ औं वार्षिक साधारण सभामा सहभागी सरोकारवालाले पत्रकारिता क्षेत्र समाजको ऐनाको रुपमा रहेको भन्दै वर्तमान समय र आगामी दिनमा थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
मुलुकको विकास र समृद्धिको लागि समेत पत्रकारिता जगतले महत्वपूणर् भूमिका खेल्न सक्ने भन्दै त्यसतर्फ पत्रकार तथा सञ्चारकर्मीले आफ्नो भूमिका बढाउन सहभागीले सुझाव दिएका छन् । प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले पछिल्लो एक वर्षमा झुलेनीको पर्यटन विकासमा पत्रकारिता क्षेत्रबाट भएका सकारात्मक कार्य एवं प्रचार प्रसारको प्रशंसा गर्दै विकासको कार्यमा महासंघसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
जिल्लामा पत्रकार महासंघ स्थापना भएसँगै नजिकबाट सहकार्य गर्दै आएको बताउँदै कक्षपतिले प्यूठान नगरपालिका पत्रकार महासंघसँग आगामी दिनमा थप सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले त्यसका लागि महासंघले योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले गौमुखीको पर्यटन प्रर्वद्धनका लागि जिल्लाका पत्रकार एवं महासंघले गरेका गतिविधिले सहयोग पुगेको बताउनुभयो । उहाँले अझैपनि जिल्लाको विकासलाई अघि बढाउन पत्रकरिता क्षेत्रबाट थप सक्रियता देखाउनुपर्ने बताउनुभयो ।
सूचनाको हकको प्रत्याभुतिसँगै जिल्लाका सेवा प्रदायक निकायलाई सूचनामैत्री बनाउन जिल्ला प्रशासन कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो । शुभकामना मन्तव्यका क्रममा उहाँले शुसानका क्षेत्रमा सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको र पत्रकारिता क्षेत्रलाई सहज रुपमा सूचना उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
पत्रकार सुद्धिकरण हुनुपर्छ
कार्यक्रममा बोल्ने पत्रकार महासंघका पूर्व अध्यक्षहरुले पत्रकार महासंघलाई थप शसक्त बनाउँदै अघि बढाउनुपर्ने सुझाव दिएका छन् । महासंघको सदस्यता सुद्धिकरण, पत्रकारिता पेशाको सुरक्षा, क्षमता विकास लगायत विषयमा महासंघको भूमिकालाई आगामी दिनमा थप प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
कार्यक्रममा पूर्व अध्यक्ष इमानसिंह भारती, सुशील पोख्रेल, निवर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारी, समाजसेवी गेहराज शर्मा पण्डित, नेपाल बार एशोसियसनका केन्द्रिय सदस्य शिवराज पण्डित, पत्रकार महासंघ लुम्विनि प्रदेश सदस्य सुजल श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अध्यक्ष महावीर रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एलवी थपा, प्रगति प्रतिवेदन सचिव विजयसिंह भारती र कोषाध्यक्ष श्रीराम भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन साधारणसभाको बन्द शत्रले सुझाव सहित पारित गरेको छ ।






