प्यूठान, २८ मंसिर । नेपाल प्याराग्लाईडिङ एशोसिएसनका महासचिव शैलेन्द्र राउतले प्यूठानका स्थानीय सरकारले सहयोग गरेमा प्याराग्लाईडिङको सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ । प्याराग्लाईडिङका लागि प्यूठानका विभिन्न ठाँऊहरु उपयुक्त रहेको भन्दै उहाँले यसको संचालनका लागि आफु तयार रहेको बताउनुभयो ।
पोखरामा हिमालयन प्रन्टेस प्याराग्लाईडिङ व्यवसाय संचालन गर्दै आउनुभएका राउतले प्यूठान समाचार डट कमसँगको कुराकानीमा प्याराग्लाईडिङका लागि प्यूठान उपयुक्त हुन सक्ने बताउनुभयो । ‘पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्याराग्लाईडिङ पनि एक उत्तम विकल्प हो ।’ ,उहाँले भन्नुभयो, ‘अध्ययन पश्चात नियमित संचालनका लागि हामी तयार छौं ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको सहकार्यमा सम्भाव्यता अध्ययनका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उहाँको धारणा छ । सम्भाव्यता अध्ययन गर्न चाहने स्थानीय सरकारले सहकार्य गरेमा अध्ययन गरी दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नियमित संचालनका लागि स्थानीयलाई नै १८ महिने ‘पाईलट’ तालिम दिने उहाँले उल्लेख गर्नुभयो । राउतले उदयपुर र धरानमा एशियन प्याराग्लाईडिङ एकेडेमी समेत संचालन गर्दै आउनुभएको छ । प्याराग्लाईडिङ सम्वन्धी अध्ययन हुने यस एकेडेमीमा प्यूठान शाखा स्थापनाका लागि समेत आफु तयार रहेको उहाँले बताउनुभयो ।
प्रदेश १ सरकारको सहयोगमा अहिले धरान लगाएत पुर्वका जिल्लाहरुमा तालिम संचालन भैरहेको छ । स्वर्गद्धारी प्यूठान महोत्सवको अवसरमा २०७१ मा मल्लरानीबाट प्याराग्लाईडिङको सफल परीक्षण गरिएको थियो । स्वर्गद्धारी, मल्लरानी, भित्रिकोट प्याराग्लाईडिङका लागि उपयुक्त स्थानहरु हुन सक्ने जानकारीहरुले बताउँदै आएका छन् ।
