> राष्ट्रिय > माण्डवी मा.विमा स्कुल बस सञ्चालन


माण्डवी मा.विमा स्कुल बस सञ्चालन

प्यूठान, १२ मंसिर । प्यूठानको माण्डवी गाउँपालिका वडा नं ३ स्थित नयाँगाउँमा रहेका माण्डवी माध्यामिक विद्यालयले स्कुल बस सञ्चालन गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि स्कुल बस सञ्चालनमा ल्याईएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विद्यालयमा आउनका लागि दुरीका हिसाबले समय बढी लाग्ने र उनीहरुको अध्ययनमा प्रत्यक्ष प्रभाव परेकाले समयको सदुपयोगका लागि बस सञ्चालनमा ल्याईएको विद्यालयका प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिनुभयो ।

 

बसको आज एक औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बसको रिबन काटनुका साथै चालकलाई साँचो प्रदान गरेको बसको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकाले दिगो विकासको लक्ष्य प्राप्तीका लागि शिक्षा क्षेत्र महत्वपूर्ण भएको बताउनुभयो । हामी निर्वाचित भएर आएपछि शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि पालिकाबाट शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । माण्डवी माविलाई जिल्लाकै उत्कृष्ट विद्यालय बनाउनका लागि पालिकाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उहाँको भनाई थियो । पालिकाका २६ वटा सामुदायिक विद्यालय मध्ये माण्डवी माविलाई पहिलो प्राथमिकता दिई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

 

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु टाढाबाट आउने हुदाँ विद्यार्थीहरुलाई थकान महसुस हुने, पढाई छुट्ने, गृहकार्य गर्न नपाउने जस्ता कारणले शिक्षामा नकारात्मक असर परेको थियो, अध्यक्ष रोकाले भन्नुभयो,–‘यस्ता समस्या समाधान गरी शिक्षामा सकारात्मक परिवर्तन ल्याउन र शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि स्कुल बस सञ्चालन गरेका हौँ ।’ स्कुल बस सञ्चालनका लागि पालिकाले पनि सहयोग गरेको उहाँको भनाई छ ।

 

स्कुल बस सञ्चालनका लागि गत वर्ष ०७६ मा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ लगाएतको उपस्थितीमा भैलो खेलेर १२ लाख ८ हजार १६९ रुपियाँ र माण्डवी गाउँपालिकाबाट २० लाख रुपियाँ गरी ३२ लाख ८ हजार १६९ रुपियाँ बजेट जुटेको थियो । त्यस मध्ये २७ लाख ९८ हजार ३७४ रुपियाँ लागतमा स्कुल बस खरिद गरेको विद्यालयका प्रधानाध्यापक पौडेलले बताउनुभयो । बस सञ्चालनले थक्लेनी, सिमलचौर, अरङ्गखोला, देविस्थान, चकचके, जस्पुर, लामाचौर, धाईरेचौर, भलवाङ्ग, मार्सिवाङ्ग लगायत क्षेत्रका करिब ५ सय जना विद्यार्थीहरु पूर्ण रुपमा लाभान्वित हुने उहाँले बताउनुभयो ।

 

विद्यालयले बस सञ्चालनका लागि चालकको समेत व्यवस्था गरेको छ । आज पहिलो दिन सेवा क्षेत्रका विद्यार्थीलाई छोड्न जाने र आईतबार देखी नियमित बस सञ्चालन गरिने उहाँले बताउनुभयो । बस सञ्चालनले शैक्षिक गुणस्तर बृद्धि गर्न सहयोग पु¥याउने हुनाले यसको दिगो व्यवस्थापनका लागि सबैले सहयोग गर्नुपर्ने प्रधानाध्यापक पौडेलको भनाई छ । माण्डवी माविमा एकोहोरो ११ किलोमिटर पैदल हिडेर विद्यार्थी अध्ययनका लागि आउने गर्दथे । माण्डवी माविमा एक हजार २५ विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *