> समाज > घाईते बालिकाको उपचारका लागि शिक्षण अस्पताल पठाईयो


घाईते बालिकाको उपचारका लागि शिक्षण अस्पताल पठाईयो

प्यूठान, २४ कात्तिक । माण्डवी गाउँपालिका वडा नं २ मर्कावाङ्ग ढिकावनकी १३ वर्षिय घाईते बालिका कृष्णा घर्तीमगरलाई उपचारका लागि शिक्षण अस्पताल काठमाण्डौं पठाईएको छ । आर्थिक अभावले उपचार रोकिएको कृष्णाको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकामगरको विशेष पहलमा आर्थिक संकलन गरी उपचारका लागि अस्पतालमा पठाईएको हो ।

गत असार ५ गते जंगलमा आमासँग घाँस काट्न गएको बेला कृष्णा भिरबाट लडेर घाईते हुनुभएको थियो । दुर्घटनापछि उपचारका लागि भैरहवा पु¥याएपनि आर्थिक अभावले परिवारले बालिकालाई घरमा ल्याएर राखेका थिए । त्यतिबेला करिब ४० हजार जति जुटाएर उपचारका लागि गएका परिवारले १५ दिनसम्म उपचारका लागि कृष्णालाई अस्पतालमा राखे । त्यतिन्जेल करिब ५ लाख रुपियाँ सकियो । डाक्टरले बच्चाको मेरुदण्ड सहित शरिरको सवै हड्डी भाँचिएको बताए । अझै बच्चालाई अस्पतालमै राख्नुपर्ने र थप उपचार आवश्यक पर्ने सल्लाह अस्पतालका डाक्टरले दिए ।तर परिवारले १५ दिनमा ५ लाख खर्च पुगिसकेको भन्दै थप उपचार गराउन आर्थिकले नभ्याउने भन्दै कृष्णालाई घरमा ल्याउने निर्णय गरे । १७ दिनको दिन बच्चालाई घरमा ल्याइयो । घरमा सुताएर राखिराख्दा शरिरका विभिन्न ठाउँमा घाउ भएर थप संक्रमणको जोखिम समेत बढेको थियो ।

आर्थिक अवस्था कमजोर हुदाँ उपचार नभएपछि माण्डवी गाउँपालिका अध्यक्ष रोकाको पहलमा सामाजिक सञ्जाल मार्फत आर्थिक जुटेको हो । देश तथा विदेशमा विभिन्न क्षेत्रबाट तीन लाख सात हजार ५ सय १ रुपियाँ आर्थिक संकलन गरी अस्पतालसंग समन्वय गरी पालिकाले एम्बुलेन्सको व्यवस्था गरेर उपचारका लागि पठाईएको अध्यक्ष रोकाले बताउनुभयो । रोकाका अनुसार आफ्नो पहलमा एक लाख २४ हजार ५ सय रुपियाँ, माण्डवी गाउँपालिका वडा नं १ तिराम स्थायी बसोबास भई हाल दुबैमा रहनुहुने हेमन्त घिमिरेको पहलमा एक लाख ५ हजार सात सय रुपियाँ र सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर देखेर प्युठान नगरपालिका वडा नं ४ विजुवार घर भई हाल बेल्जीयममा रहनुभएकी मन्जुश्री प्रधानको मुख्य पहलमा ७७ हजार तीन सय १ रुपियाँ संकलन भएको हो । गाउँपालिका अध्यक्ष रोकाले थप आर्थिक जुटाउन समेत विभिन्न व्यक्तिहरुसंग समन्वय राख्ने बताउनुभयो ।


त्यस्तै आईतबार माण्डवी गाउँपालिका वडा नं २ मर्कावाङ्ग ढाडका सामाजिक अभियान्ता हरी बस्नेत र मल्लरानी गाउँपालिका वडा नं ४ खंलगाका ईन्जीनियर अर्जुन श्रेष्ठले जन्मदिनको अवसरमा क्रमश : ५ , २ गरी ७ हजार रुपियाँ उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गर्नुभएको छ । सामाजिक अभियान्ता बस्नेतले कृष्णाको उपचारका लागि थप आर्थिक संकलन अभियान समेत सञ्चालन गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *