प्यूठान, ७ कात्तिक । चार महिना अघि रुखबाट लडेर १३ वर्षीया कृष्णा घर्ति घाईते हुनुभयो । माण्डवी गाउँपालिका–२ ढिकावन निवासी कृष्णालाई उपचारका लागि परिवारले अस्पताल पु¥याए ।
दुर्घटनामा कृष्णाको मेरुदण्ड सहित हात, खुट्टा समेत भाँचिएको छ । शरिरका अन्य भागमा समेत चोट लागेको छ । बालिकाको उपचारका लागि स्थानीयले गाउँमा आर्थिक सहयोग समेत संकलन गरे । उक्त संकलन गरेको रकमले उपचार गर्न नपुगेपछि परिवारले घरबारी धितो राखेर बैंकबाट ऋण लिए । तरपनि रकम अभाव भएपछि छोरीलाई घरमा फर्काएर ल्याएको आमा बालिका घर्तिले बताउनुभयो ।
परिवारले तीन लाख रुपियाँ बैंकबाट ऋण लिएको छ । भैरहवामा उपचारका लागि लगेपनि रकम अभाव भएपछि घर फर्किएका हुन । घरमा राख्दा बच्चाको स्वास्थ्य अवस्था झन विग्रिन थालेको छ ।
घटनाको बारेमा जानकारी पाएलगत्तै माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बालिकाको उपचारको लागि अभियान नै थाल्नुभएको छ । ‘घाईते बालिकाको अवस्था देखेर म स्तब्ध भए,’ गाउँपालिका अध्यक्ष रोकाले भन्नुभयो, ‘उपचारका लागि गाउँपालिकाबाट र व्यक्तिगत रुपमा सहयोग गर्ने आश्वासन दिएको छुँ ।’ बालिकाको औषधी उपचारको लागि आर्थिक सहयोग संकलनको अभियानमा लागेको रोकाले बताउनुभयो ।
![](https://pyuthansamachar.com/wp-content/uploads/2020/10/121590163_3460415424016246_1166833788111552294_n.jpg)
हालसम्म देश विदेशबाट गरि करीव ३ लाख रुपियाँ रकम संकलन भएको उहाँले बताउनुभयो । संकलित रकम मध्ये केहि रकम दशै खर्च र बच्चाको खानपानको लागि उपलब्ध गराएको अध्यक्ष रोकाले प्यूठानसमाचारडटकमलाई बताउनुभयो । ‘सहयोग रकम संकलन भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘दशै लगत्तै उपचारका लागि अस्पताल लैजाने हो ।’
उपचारको लागी सहयोग संकलनको अभियानमा प्यूठान स्वर्गद्धारी समाज युएईका अध्यक्ष हेमन्त घिमिरे लाग्नुभएको छ । बालिकाको अवस्थाबारे थाहा पाएपछि अभियानमा लाग्नुभएको हो । घिमिरेले करीव डेढ लाख रुपियाँ सहयोग संकलन गरेको जानकारी दिनुभएको छ ।
बालिकाको स्वास्थ्य अवस्थाको बारेमा थाहा पाएपछि बेल्जियममा रहनुभएकी मन्जुश्री प्रधानले समेत आर्थिक सहयोगको अभियान थाल्नुभएको छ । ‘यहाँ रहेका नेपालीहरुबाट सहयोग संकलनको काम भइरहेको छ,’ उहाँले प्यूठानसमाचारडटकमसँग भन्नुभयो,‘बच्चाको उपचार सँगै परिवारलाई ऋणबाट मुक्त बनाउन सकिन्छ की भन्ने सोंच छ ।’ आर्थिक रुपमा विपन्न परिवारलाई सवैले सहयोग गर्न उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत अपिल समेत गर्दै आउनुभएको छ ।
सहयोगका लागि बच्चाको आमा बालिका घर्तिको नाममा सिभिल बैंकमा खाता(०१७१०१९४७४६०१७) समेत सञ्चालन गरिएको छ ।
![](https://pyuthansamachar.com/wp-content/uploads/2020/09/119033315_322448785529119_2565593163984391492_n.jpg)