प्यूठान, २० असोज । ५ नं. प्रदेशमा आत्महत्या न्यूनिकरणका लागि “आत्महत्या रोकथाम, चेतना अभियान र प्रयास” १५ दिने अभियान शुरु गरिएको छ । दिन प्रतिदिन समाजमा आत्महत्याका घटनाहरु बढ्दै गएको भन्दै त्यसको न्युनीकरणका लागि अभियान थालेको हो ।
५ नं. प्रदेशमा आ.ब.२०७४/०७५ मा पुरुष ५९९, महिला ४९२ गरी जम्मा १ हजार ९१ जना, आ.ब. २०७५/०७६ मा पुरुष ५९१, महिला ३३७ गरी जम्मा १ हजार १२८ जना र आ.ब. २०७६/०७७ मा पुरुष ७१७, महिला ५१९ गरी जम्मा १ हजार २३६ जनाले आत्महत्या गरेको तथ्याँक रहेको छ ।
त्यस्तै चालु आ.ब. २०७७/०७८ को साउन र भाद्रमा पुरुष १७७ महिला १११ गरी जम्मा २८८ जनाले आत्महत्या गरेका छन भने यो संख्या अघिल्लो आर्थिक वर्षको श्रावण-भाद्रमा २०९ रहेको थियो । तथ्याङ्कलाई आधार मानेर हेर्दा प्रत्यक वर्ष आत्महत्या गर्नेहरुको संख्यामावृद्बि भइरहेको देखिन्छ ।
प्रहरीले गरेको ५ नं. प्रदेशको तीन वर्षको आत्महत्याका घटनाको विश्लेषणमा उदासिनता, मादक पदार्थ र लागु औषध दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, घरेलु हिंसा, आफन्तको मृत्यू, गरिवी, वेरोजगारी, मायामा धोका, पढाईमा असफलता जस्ता कारणहरु आत्महत्याका मुख्य कारणहरु देखिएका छन् । हाल विश्वभर फैलिएको महामारी कोभिड १९ को प्रभाव समेत हुन सक्ने देखिन्छ । सामाजिक संजाल र संचार उपकरणको दुरुपयोग, वालविवाह, बहु विवाह, ढाटेर अर्को विवाह गर्ने जस्ता कारणले पनि आत्महत्या हुने गरेको प्रहरीको विश्लेषण छ ।
अभियान अन्तर्गत प्रभावित क्षेत्र समूहमा माईकिङगर्ने, मिडियाहरुमा आत्महत्या न्यूनिकरणको चेतनामूलक सूचना प्रशारण गर्ने, आत्महत्या न्यूनिकरणमा संलग्न संस्था,आमा समूह, स्थानिय महिला बालबालिकालाई सहभागी गराई टोल, वडा, पालिका स्तरमाअन्तर्क्रिया तथा छलफल गर्ने, चोक चोकमा स-साना समुहमा चेतनामुलक प्लेकार्ड सहितका स्वयंसेवक परिचालन गर्ने लगाएतका माध्यमहरुबाटसचेतना कार्यक्रम तय गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयहरु नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम (पूर्व) र सो मातहतका ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी पोष्ट सहित जम्मा ३७७ प्रहरी ईकाइबाट यस कार्यक्रमले दैनिक रुपमा स्थानिय पालिका, वडा, सम्वन्धित संघ सस्था, उद्योग वाणिज्य संघ, अन्य सरोकारवाला निकायहरुसंग सहकार्य गरी नागरिक केन्द्रित कार्यक्रम संचालन गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पन्ध्र दिने कार्य अवधिभर प्रदेशभित्र १००० वटा कार्यक्रम गर्ने लक्ष्य लिइएको छ ।