> राष्ट्रिय > प्यूठानका तीन अस्पताल शिलान्यास


प्यूठानका तीन अस्पताल शिलान्यास

प्यूठान, १५ मंसिर । प्यूठानका तीन वटा पालिकाको अस्पतालको शिलान्यास गरिएको छ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९६ वटा स्थानीय तहमा आज अस्पताल निर्माणको शिलान्यास गर्ने भनेसँगै प्यूठानका तीन स्थानीय तहले अस्पताल भवन निर्माणको शिलान्यास गरेका हुन ।

जिल्लाका ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका र मल्लरानी गाउँपालिकाले १५/१५ शैयाको अस्पताल निमार्णको शुरुवात गरेका छन् । मल्लरानी गाउँपालिका वडा नं.४ स्थित खंलगा प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण हुने भवनको सांसद दुर्गा पौडेलले शिलान्यास गर्नुभएको हो । आगामी दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि निमार्ण कार्यको थालनि गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो । भवन निर्माणका लागि दुई करोड बजेट प्राप्त भएको छ ।


त्यसैगरी, ऐरावती गाउँपालिका वडा नं. २ स्थित पुरनठाँटी स्वास्थ्य चौकी बरौलामा निर्माण हुन लागेको अस्पताल भवनको शिलान्यास भएको छ । प्रदेश सभा सदस्य कृष्णध्वज खड्काले उक्त भवनको शिलान्यास गर्नुभएको हो । भवन निर्माणको लागि एक करोड प्राप्त भईसकेको र डिपिआरको प्रक्रिया सुरु गरिएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो ।


त्यसैगरी, माण्डवी गाउँपालिकाले वडा नं. ३ स्थित देविस्थान स्वास्थ्य चौकीमा बन्न लागेको भवनको समेत सांसद खड्काले शिलान्यास गर्नुभएको हो । भवनको डीपीआर तथा खर्च ईष्टिमेट गर्न वाँकी रहेकाले छिट्टै डीपीआर बनाई दुई वर्ष भित्र सञ्चालन गर्ने गरी तयारी गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले जानकारी दिनुभयो ।

जिल्लाका नौबहिनी र गौमुखी गाउँपालिकाको भवन निर्माणको शिलान्यास कार्यक्रम भने हुन सकेन । जग्गा विवाद लगायतका कारण शिलान्यास कार्यक्रम गर्न नसकिएको गाउँपालिकाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *