> समाज > सरुमारानी गाउँपालिकाको मौलिक कार्यक्रम :‘छोरी पेवा बचत कार्यक्रम’ प्रभावकारी बन्दै


सरुमारानी गाउँपालिकाको मौलिक कार्यक्रम :‘छोरी पेवा बचत कार्यक्रम’ प्रभावकारी बन्दै

प्यूठान, ९ भाद्र । सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । छोरा र छोरीमा हुने गरेको लैंगिक विभेद हटाउन गाउँपालिकाले मौलिक कार्यक्रम ‘छोरी पेवा बचत कार्यक्रम’ अघि बढाएको छ । गाउँपालिकाले पालिकाका सवै छोरीलाई शिक्षामा पहुँच पु¥याउँदै विभेद कम गर्न कार्यक्रम अघि बढाएको हो ।

आर्थिक वर्ष २०७५/०७६ देखि शुरु गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । पालिकाभित्र जन्मिने छोरीको नाममा पालिका भित्रका दुई वटा सहकारी ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बड्डाँडा र साना किसान कृषि सहकारी संस्था बांगेशालसँग सहकार्य गरि रकम जम्मा गरिदिने गरेको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

पालिकाले कार्यक्रम कार्यान्वयनका लागि कार्यविधी समेत बनाएको छ । उहाँका अनुसार पालिकाले १० वर्षसम्म नियमित रकम जम्मा गरिदिनेछ । “मासिक एक सय रुपियाँबाट बचत शुरु गरेका थियौं” अध्यक्ष विश्वकर्माले भन्नुभयो, “यो वर्ष बढाएर मासिक तीन सय रुपियाँ बनाएका छौं ।”

महिला शसक्तिकरणका लागि के गर्न सकिन्छ भनेर सोंच्दै गर्दा नयाँ कार्यक्रम तय भएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । “यो कार्यक्रमबारे योजना तर्जुमाको बेलामा मैले प्रस्ताव अघि सारे” उहाँले भन्नुभयो, “जनप्रतिनिधि साथीहरुले पनि सकारात्मक रुपमा लिनुभयो र अघि बढायौं ।” पालिकामा यो मौलिक कार्यक्रम भएको उहाँको भनाई छ ।

कार्यक्रमले छोरीमाथि हुने हिंसा न्यूनीकरण गर्ने, बाल विवाह कम गर्ने, शिक्षमा पहुँच पु¥याउने पालिकाले अपेक्षा लिएको छ । कार्यक्रम लागु भएपछि अभिभावक समेत खुशी भएका छन् । उनीहरुले समेत बचत रकममा थप रकम बचत गर्ने अभ्यास थालेको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

हालसम्म १३३ जना छोरीको बचत खाता सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर घर्तिले बताउनुभयो । यो वर्ष चार लाख रुपियाँ बजेट कार्यक्रमका लागि छुट्याइएको उहाँले जानकारी दिनुभयो । हालसम्म कार्यक्रम सकारात्मक र प्रभावकारी देखिएको जनप्रतिनिधि र स्थानीयले बताएका छन ।