> समाज > स्वास्थ्यमा सुधारका काम गरेका छौं : नगरप्रमुख रोकाय


स्वास्थ्यमा सुधारका काम गरेका छौं : नगरप्रमुख रोकाय

सुजल श्रेष्ठ
प्यूठान, २ चैत । स्वर्गद्वारी नगरपालिकाले स्वास्थ्य तथा पोषणको क्षेत्रमा प्रर्वद्धनात्मक काम गर्दै आएको नगरप्रमुख नेत्र बहादुर रोकायले बताउनुभएको छ । नगरपालिकाले नगर क्षेत्रका हजारदिनका आमा तथा बालबालिकाको स्वास्थ्य तथा पोषणको अवस्था सुधारका लागि थुप्रै प्रर्वद्धनात्मक काम गर्दै आएको नगरप्रमुख रोकायको भनाई छ ।
स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता गोष्ठीमा बोल्दै नगरप्रमुख रोकायले बालबालिकालाई कुपोषण हुन नदिन काम थालिएको बताउनुभयो । कुपोषण भएका बालबालिका छैनन भन्ने होइन, उहाँले भन्नुभयो, त्यसलाई घटाउन काम गर्दै आएका छौं । स्वास्थ्य र सरसफाईको क्षेत्रमा नगरपालिकाले काम गर्दै आएको उहाँले बताउनुभयो ।
एक घर एक धाराको नीतिसँगै घरमा फल र फुलको बोट रोपेको हुनुपर्छ भनेका छौं, उहाँले भन्नुभयो, घर, आँगन, चोक सफा हुनुपर्छ भनेर अघि बढेका छौं । धुवा रहित चुलो ९५ प्रतिशत बनेको भन्दै उहाँले त्यसको कार्यान्वयको अवस्था अनुगमन गर्नुपर्ने बताउनुभयो ।
गर्भवती देखि सुत्केरी भएका आमालाई नगरपालिकाले सहयोग थालेको छ, उहाँले भन्नुभयो, त्यसका लागि उपमेयर कोसेली कार्यक्रम सञ्चालन भएको छ । पोषणयुक्त खानाको व्यवहारमै प्रयोगका लागि कोसेली मार्फत दिने गरेका छौं, उहाँले भन्नुभयो ।
नगरपालिकाको स्वास्थ्य नीति
स्वर्गद्वारी नगरपालिकाले स्वास्थ्य नीति बनाएको छ । तयार भएको नीति नगरसभाबाट पास हुन बाँकी रहेको स्वास्थ्य संयोजक दलबहादुर केसीले बताउनुभयो । स्वास्थ्य नीतिले तीन स लाई प्राथमिकता दिएको उहाँको भनाई छ । तीन स मा सफा चर्पि, सफा भान्सा र सफा घर आँगन र हराभरा करेसावारी बनाउने उल्लेख छ ।
थप प्रोत्साह भत्ता
नगरपालिकाले गर्भवती जाँच गर्न आउदा चौथो, छैठौ, आठौ र नवौं हप्ता प्रोत्साहन स्वरुप समाग्री दिने गरेको छ । त्यसैगरि सुत्केरी भएका महिलालाई पोषणयुक्त सामाग्री सहितको कोसेली झोला दिने गरेको छ ।
नगरपालिका भित्र चार पटक गर्भ जाँच र संस्थागत सुत्केरी भएमा नगरपालिकाले थप एक हजार सहित ३८ सय रुपियाँ नगद दिदै आएको छ । सुत्केरी महिलालाई तेस्रो र सातौ दिनमा जाँच गर्न घरमा पुग्ने स्वास्थ्यकर्मीलाई तीन सय देखि पाँच सय रुपियाँ प्रोत्साहन भत्ता दिने गरेको छ ।
नगरपालिकाको पोषण र स्वास्थ्य क्षेत्रको दिगोपना सुनिश्चित गर्न सुआहारा कार्यक्रम मार्फत गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा कार्यक्रम संयोजक भरत भट्टले पोषणको महत्वको बारेमा जानकारी गराउनुभएको थियो । स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, कृषि र पशु सेवा, वास शाखाले प्रस्तुती राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!