> खेलकुद > लाखौं रकम खर्चेको खेलमैदान अलपत्र


लाखौं रकम खर्चेको खेलमैदान अलपत्र

सुजल श्रेष्ठ
प्यूठान, ६ चैत ।
मल्लरानी गाउँपालिका–३ रस्पुरकोट चौरपानीमा निर्माणधिन खेलमैदान अलपत्र भएको छ । गत आर्थिक वर्ष प्रदेश सरकारको अनुदानमा मल्लरानी गाउँपालिका मार्फत निर्माण गरेको खेलमैदान अधुरो र अलपत्र अवस्थामा रहेको छ ।
खेल मैदान निर्माणको काम उपभोक्ता समितिले गरेको हो । प्रदेश सरकारले खेल मैदान निर्माणका लागि ३६ लाख अनुदान रकम पालिकालाई उपलब्ध गराएको थियो । त्यसमध्ये २९ लाख ९६ हजार रुपियाँ खर्च भएको योजना शाखा प्रमुख बन्दना शाक्यले बताउनुभयो । उपभोक्ता समिति मार्फत गत वर्ष काम गरिएको समेत उहाँको भनाई छ । यसवर्ष प्रदेशमा बजेट माग गरिएपनि बजेट प्राप्त नभएको उहाँको भनाई छ । खेल मैदान निर्माणका लागि पालिकाले डिपिआर समेत तयार गरेको छ । चार लाख ९० हजार रुपिँया डिपिआर बनाउन खर्च लागेको गाउँपालिकाले जनाएको छ ।
उपभोक्ता समितिका अध्यक्ष माधव पौडेलले गत वर्ष काम गरिएपनि खेल मैदान पुरा भइनसकेको बताउनुभयो । खेलमैदान अधुरो अवस्थामा छ, उहाँले भन्नुभयो, आँपका बगैचा फाल्नुपर्नेछ । तर आँपको बगैचा फाल्न नहुँने भन्दै बन कार्यालयमा मुद्धा परेको उहाँको भनाई छ । पर्खाल लगाउन र बगैचा फालेर खेलमैदान विस्तार नगर्दासम्म खेलमैदान तयार नहुने उहाँको भनाई छ ।
लाखौं खर्च गरेर निर्माण थालिएको खेलमैदान अलपत्र हुने अवस्थामा परेको स्थानीय कृष्णराज पाण्डेयले बताउनुभयो । पालिका स्तरको खेलमैदान बन्ने सम्भावना हुँदाहुँदै पनि काम अधुरो हुँदा स्थानीय चिन्तित भएको उहाँको भनाई छ । लाखौं रकम निर्माणमा खर्च भएपनि सो अनुसारको काम नभएको पाण्डेयले बताउनुभयो ।
यसपटक उक्त खेल मैदानका लागि बजेट विनियोजन भएको छैन । गाउँपालिकाले खेल मैदानका लागि बजेट नछुट्याउँदा निर्माणधिन खेलमैदान अधुरो र अलपत्र बन्ने स्थानीयको भनाई छ । थप निर्माण कार्य नहुँदा गतवर्ष खर्च गरिएको रकम समेत सदुपयोग नहुने स्थानीय कृष्णराज पाण्डेयको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!