प्युठान, ११ असार । ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रममा कृषि, रोजगारी, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाको सातौ गाउँसभाबाट कृषि, रोजगारी, स्वास्थ्य, शिक्षालाई विशेष प्राथमिकता दिदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको पालिकाले जनाएको छ ।
कोरोना संक्रमणका कारण निम्ताएको संकटलाई व्यवस्थापनका लागि गाउँपालिकाले विषेश जोड दिदै नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेको छ । पालिकामा संञ्चालन हुने उद्योग व्यवसाय र कृषि तथा पशुपन्छी उत्पादनबीच अग्र तथा पृष्ठ सम्बन्ध स्थापना गरिने, उत्पादनमा आधारित प्रोत्साहन प्रणालीको अबलम्बन गरिने गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो ।
कृषि तथा पशुपन्छीको विकासमा जोड, अर्गानिक उत्पादनमा जोड, मत्स्य पालन व्यवसायलाई प्रर्वदन, जडिबुटी उत्पादन र प्रशोधनलाई प्रोत्साहन दिईने नीतिलाई अगाडी सारिएको अध्यक्ष शाहले बताउनुभयो ।
त्यस्तै पालिका क्षेत्रमा २० रोपनी भन्दा बढी जग्गा लिजमा लिई व्यवसायीक खेति गर्ने कृषक समुहलाई नियमित प्राविधिक सहयोग उपलब्ध गराईने छ । स्थानीय कच्चा पदार्थमा आधारित औद्योगिक ग्राम स्थापना समेत गरिने शाहले बताउनुभयो ।
श्रम शक्तिको सर्वेक्षण , अध्यक्षसँग यूवा कार्यक्रम
आउदो वर्ष यस पालिकामा रहेका श्रम शक्तिको सर्वेक्षण गरी तथ्यांक अद्यावधिक रुपमा राख्ने व्यवस्था मिलाईने पालिका अध्यक्ष शाहले बताउनुभयो । रोजगारी सिर्जना गर्नका लागि यूवा स्वरोजगार कार्यक्रम, परम्परागत पेशाको संरक्षणसंगै आधुनीकिकरणमा जोड, प्रधानमन्त्री रोजगारी कार्यक्रमलाई थप प्रभावकारी बनाउने नीति अगाडी सारिएको अध्यक्ष शाहले बताउनुभयो ।
त्यसैगरी श्रम, सिप र उत्पादनमा आधारित सहकारी स्थापना गरिने छ । पालिकाको भौतिक पूर्वाधारको क्षेत्रमा आवश्यक जनशक्तिको विकासका लागि यसै आर्थिक वर्षदेखि यूवाहरुलाई विविधतामा आधारित सिपमूलक तालिम प्रदान गरिने अध्यक्ष शाहले बताउनुभयो । युवा श्रम शक्तिको बढ्दो उपयोगका लागि उत्पादनमा आधारित प्रोत्साहन प्रणालीको विकास गरी कार्यान्वनमा ल्याईने शाहको भनाई छ ।
आधारभुत तहसम्म पूर्ण रुपमा निःशुल्क
आगामी वर्ष आधारभूत तहसम्मको शिक्षालाई पूर्ण रुपमा निःशुल्क गरिने पालिकाको नीति छ । प्राविधिक शिक्षामा जोड दिईने, खेलकुदका कार्यक्रम सञ्चालन, अतिरिक्त क्रियाकलाप सञ्चालन, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि अक्षयकोषको स्थापना गरिने, पालिका क्षेत्रमा सामुदायिक क्याम्पस स्थापनाको लागि आवश्यक पहल, पालिकागत परीक्षा प्रणालीको विकास, अति विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई थप शैक्षिक सामाग्री उपलब्ध गराउने, दिवा खाजा कार्यक्रमलाई थप बिस्तार गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।
गर्भवती र सुत्केरी आमालाई क्याल्सियम
पालिकाक्षेत्रमा गर्भवती तथा सुत्केरी हुने आमालाई क्याल्सियम वितरण गर्ने कार्यक्रमको नीति अगाडी बढाएको छ । महिलाहरुको स्वास्थ्यलाई साथ दिनका लागि यो कार्यक्रम लिन थालिएको हो । त्यस्तै स्वास्थ्य तर्फ भिटामिन ए कार्यक्रम, पूर्ण खोप सुनिश्चितता तथा प्रसुति जाँच सेवालाई अझ सुदृढ बनाउने, स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने, स्वास्थ्य संस्थासम्म सबै नागरिकको पहुँच पु¥याईने, जिरो होम डेलिभरी अभियान सञ्चालन गरिने, टेलिमेडिसिन तथा मानसिक रोग उपचार सेवालाई बिस्तार गरिने नीति सारिएको अध्यक्ष शाहले बताउनुभयो ।
त्यसैगरी, जेष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गरिने, बृद्धलाई ओखती कार्यक्रमलाई थप प्रभावकारी बनाईने, ग र घ वर्गका अंपागता भएका व्यक्तिका लागि न्युनतम आर्थिक सहयोग गर्ने नीति अगाडी बढेको छ । साथै महामारीजन्य रोग रोकथाम सचेतना अभियान सञ्चालन गरिने पालिका अध्यक्ष शाहले बताउनुभयो ।