प्यूठान, ३२ साउन । प्यूठानको माण्डवी गाउँपालिका र दाङको बंगलाचुली गाउँपालिकाले आफ्नो सीमानामा पर्ने पर्यटकीय स्थल ‘बंगलाचुली-ठुलीलेख’ को विकासका लागि सहकार्य गर्ने सहमति गरेका छन् ।

अन्तर स्थानीय तह सहकार्य मार्फत योजना अघि बढाउन दुई गाउँपालिकाबीच सहमति भएको छ ।
माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले कम्तीमा दुई पालिकाले पाँच/पाँच करोड लगानी गर्ने सम्झौता भएको बताउनुभयो । ‘दुई वटा पालिका मिलेर सहकार्य गर्दा आर्थिक व्ययभार कम हुने भयो ।’ उहाँले भन्नुभयो,‘त्यसका लागि बंगलाचुली ठुलिलेख पर्यटन प्रर्वद्धन कार्यक्रम तय गरिएको छ ।’
बंगलाचुलीले हालसम्म उक्त क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि २ करोड ५४ लाख लगानी गरिसकेको जनाएको छ । माण्डवी गाउँपालिकाले ५ लाख ७० हजार रुपियाँ खर्च गरिसकेको जनाएको छ । थप दुई करोड १३ लाख रुपियाँ खर्च गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो ।
बंगलाचुलीमा दैनिक कम्तीमा एक हजार पर्यटक आउन थालेका छन् । पालिकाले जिल्ला भित्रका अन्य स्थानीय तहसँग पनि अन्तरपालिका योजना कार्यान्वयनको काम अघि बढाउने सोंच बनाएको रिजालले बताउनुभयो ।

अन्तरपालिका सहकार्य मार्फत प्यूठान नगरपालिका र मल्लरानी गाउँपालिकाले गतवर्ष बड्डाँडा खानेपानी आयोजनामा सहकार्य गरेका छन् । जसबाट प्युठान नगरपालिका-४ र मल्लरानी गाउँपालिका-४ बड्डाँडाका स्थानीय खानेपानी सुविधाबाट लाभान्वित भएका छन् ।
‘नगरपालिकासँग मिलेर योजना सम्पन्न भएको छ,’ मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले भन्नुभयो,‘ एक घर एक धारा निर्माण भएका छन्, ।’ थोरै लगानीबाट राम्रो काम भएको उहाँको भनाई छ । यसवर्ष पनि छिमेकी गाउँपालिका झिमरुकसँग सडक निर्माणमा सहकार्य गर्न लागिएको थापाले जानकारी दिनुभयो ।
जिल्लाका स्थानीय तहले अन्तरपालिका समन्वयमा विकास निर्माणका काम अघि बढाउन जोड दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन अन्र्तगत जिल्ला भित्रका पालिकाले जिल्ला भित्रै र छिमेकी जिल्लासँग समेत समन्वय गरि विकास निर्माणका योजनामा सहकार्य गर्न थालेका हुन् । अन्तर पालिका समन्वयबाट पालिकाको स्वमुल्यांकनमा समेत अङ्क प्राप्त हुने भएकाले पछिल्लो समय स्थानीय तह अन्तरपालिका समन्वयमा योजना कार्यान्वयन गर्न अघि बढेका हुन ।
