> सम-सामायिक > श्रमिक महिला दिवसमा रेडियो सम्वाद


श्रमिक महिला दिवसमा रेडियो सम्वाद

सुजल श्रेष्ठ
प्यूठान, २५ फागुन ।

११० औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रेडियो सम्वाद कार्यक्रम गरिएको छ । मल्लरानी गाउँपालिकाको आयोजनामा जिल्लाका सामुदायिक रेडियोबाट रेडियो सम्वाद कार्यक्रम गरिएको हो । कोरोना भाइरसको संक्रमणबाट बच्न सार्वजनिक कार्यक्रम नगर्ने भएकाले सरोकारवालाबीच रेडियो सम्वाद कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । रेडियो कृपालु, रेडियो महिला आवाज, रेडियो माण्डवी, रेडियो प्यूठानबाट प्रशारण गरिएको हो ।
कार्यक्रममा सहभागीले यस वर्षको दिवसको नारा समानताको पुस्ताः अन्त्य गरौ हिंसा विभेद र असमानताको नारालाई व्यवहारत प्रयोगमा ल्याउन सवै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनीहरुले दिवसलाई अभियानको रुपमा लिनुपर्ने भन्दै समाजका हरेक गतिविधि समानतामुलक हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा अधिकारकर्मी पार्वता आचार्यले संविधानले महिलालाई प्रशस्त अधिकार दिएको बताउँदै महिलामैत्री कानुन बन्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, तर यो मात्र पूर्ण होइन, कानुनको व्यवहार प्रयोग हुन अझै सकिरहेको छैन ।
संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष प्यूठानका जिल्ला कार्यक्रम विज्ञ प्रेम नारायण श्रेष्ठले लैंगिक हिंसा न्यूनिकरणका लागि स्थानीय तहले विशेष पहल थाल्नुपर्ने बताउनुभयो । जिल्लामा बालविवाहको अवस्था भयावह रहेको भन्दै त्यसले समेत लैंगिक हिंसालाई बढाइरहेको बताउनुभयो ।
मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले अझैपनि दुरदराजमा दिवसबारे जानकारी नभएको भन्दै लैंगिक हिंसा विरुद्धका अभियान दिवसमा मात्र सिमित हुने गरेको बताउनुभयो । उहाँले महिलाको समस्यालाई महिलाको मात्र नभनेर त्यस अनुरुपका गतिविधि अगाडी बढाउनुपर्ने बताउनुभयो ।
जिल्लामा यस आर्थिक वर्षमा लैगिंक हिंसाका २१ वटा मुद्धा दर्ता भएको प्रहरी निरिक्षक विष्णु पौडेलले बताउनुभयो । उहाँले महिला, बालबालिका तथा जेष्ठ नागरिकसँग सम्वन्धित ११० वटा उजुरी प्रहरीमा आएको जानकारी गराउनुभयो । कानुन कार्यान्वयनका लागि समेत सवै सरोकारवाल निकायको सहयोग आवश्यक रहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!