प्यूठान । नजिकिदै गरेको दशैं तिहारका लागि लक्षित गरि प्यूठानमा खसीबोकाको मुल्य तोकिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका स्थित शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी र सक्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाले खसिबोका खरिदविक्रिका लागि मुल्य तोकेका हुन् ।
हेर्नुहोस् जिउँदो खसीबोकाको खरिद तथा विक्री मुल्यसुची :
किसानले पाउन थाले थप अनुदान
सरुमारानीका स्थानीय उद्यमीले खसीबोका विक्री गरेबापत आफ्नो मुल्यसँगै थप अनुदान पाउन थालेका छन् । उनीहरुले सहकारी मार्फत खसीबोका विक्री गरेबापत प्रति केजी २५ रुपैयाँसम्म अनुदान पाउँदै आएका छन् ।
सरुमारानी गाउँपालिका- ३ की निमा कुमारी रखालले बाख्रापालन व्यवसाय गर्नुहुन्छ । उहाँले पालेको खसीबोका गाउँकै शान्तिकुञ्ज सहकारी मार्फत बेच्दै आउनुभएको छ । उहाँले विगत तीन वर्षदेखी यसरी सहकारीमार्फत खसीबोका बेच्न थालेको रखालले बताउनुभयो ।

“३०/४० वटा बाख्रा पाल्दै आएको छु,” उहाँले भन्नुभयो,“वर्षेनी १०/१५ वटा सहकारी मार्फत विक्री हुन्छ ।” सहकारीबाट बेच्दा खसीबोकाको मुल्य सहित थप अनुदान समेत पाउने गरेको उहाँले बताउनुहुन्छ । “तौल नगरि बेच्दा घाटा पनि हुन सक्छ,” उहाँले भन्नुभयो,“आफ्नै आँखा अगाडी जोखेर बेच्न पाइन्छ, अनुदान पनि मिल्छ ।”
गाउँकै दुरमाया रानाले पनि तौल गरेरै खसीबोका बेच्ने गर्नुहुन्छ । पहिले तौल नगरि अनुमानमा बेच्ने गरेपनि गाउँमा सहकारी स्थापना भएपछि तौल गरेर खसीबोका बेच्न थालेको रानाले बताउनुभयो ।
कति पाए अनुदान ?
कृषि तथा पशुपंछी विकास कार्यालय प्यूठानले गत वर्ष १२ लाख रुपियाँ किसानलाई खसीबोका विक्री मार्फतको अनुदान दिएको थियो । कार्यालय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भाष्कर पौडेलका अनुसार प्रति किलो २५ रुपियाँका दरले किसानलाई अनुदान दिएको बताउनुभयो । “यो वर्ष पनि कार्यक्रम रहेको छ,” उहाँले भन्नुभयो, “दुधमा पनि प्रतिलिटर दुई रुपियाँ अनुदान दिने गरेका छौं ।”

वार्षिक १५ सय गोटा खसिबोका विक्री गर्ने लक्ष्य
सात वर्षअघि स्थापना भएको शान्तिकुञ्ज सहकारीले चार वर्षदेखी खसिबोका खरिद विक्री गर्दै आएको छ । सहकारीका व्यवस्थापक टेम्पल सारुले वर्षेनी करीव नौ सयको हाराहारीमा खसीबोका खरिदविक्री गर्दै आएको बताउनुभयो ।
सरुमारानी गाउँपालिकाकै १ नम्वर वडामा सक्रिय सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले पनि खसिबोका खरिद विक्री गर्ने गरेको छ । दश वर्षअघि स्थापना भएको सहकारीले चार वर्षदेखी खसीबोकाको कारोबार थालेको हो । स्थानीय सरकार, सहकारी र व्यापारीको संयुक्त बैठकबाट खसीबोकाको मुल्य निर्धारण गर्ने गर्दछन् । दुवै सहकारीले यो वर्ष १५ सय गोटा खसीबोका खरिदविक्री गर्ने लक्ष्य लिएका छन ।
हेफर इन्टरनेशनल र सरुमारानी गाउँपालिकाको सहयोग
पालिका भित्रका दुवै सहकारीलाई हेफर इन्टरनेशनल नेपाल, सरुमारानी गाउँपालिकाले सहयोग गर्दै आएको छ । दुई वर्षका लागि ग्रामीण विकास समाज नेपालले कार्यक्रम सञ्चालन गर्नेगरि गतिविधि अगाडी बढाएको छ ।

संस्थाका कार्यक्रम संयोजक बेदराज शर्माका अनुसार कार्यक्रमका लागि सरुमारानी गाउँपालिकाले तीन करोड १५ लाख र हेफर इन्टरनेशन नेपालले एक करोड पाँच लाख लगानी गर्ने सम्झौता भएको छ ।
“दई वर्षका लागि कार्यक्रम सम्झोता भएको छ,” शर्माले भन्नुभयो “खसीबोका उत्पादनमा यस क्षेत्रका किसान समेत क्रियाशिल रहदै आएका छन् । ” कार्यक्रम मार्फत ४५० वटा बाख्रा, ६८ ब्याड बोका वितरण, खोर निर्माण, सुधार, तालिम लगायतका कार्यक्रम गरिने शर्माले बताउनुभयो ।
