> राष्ट्रिय > पिसिआर मेसिन खरिदमा सहयोग गर्न तयार छु : बामदेव


पिसिआर मेसिन खरिदमा सहयोग गर्न तयार छु : बामदेव

प्यूठान, २८ जेठ । कोरोना भाईरसको संक्रमण जाँच गर्न पिसिआर मेसिन खरिदमा सहयोग गर्न तयार रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले बताउनुभएको छ ।

नेता गौतमले प्यूठान पठाउनुभएको माक्स वितरणका क्रममा पिसिआर जाँचको रिपोर्ट ढिलो आउँदा समस्या भएको गुनासो बढेपछि उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

प्रदेश नं. ५ को रुपन्देही, दाङ र नेपालगञ्जबाट कोरोना परीक्षण भैरहेको छ । ‘प्रयोगशालामा जाँचको चाङ छ ।’ ,जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन पुष्कल श्रेष्ठले भन्नुभयो, ‘९ दिन अघि पठाएको स्वावको रिपोर्ट आउन बाँकी छ ।’ २८ जेठ दिउँसोसम्म ३४५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । आजैसम्म जिल्लाका क्वारेन्टाईनमा रहेको संख्या करिव ५ हजार ५ सय छ ।

लामो समयसम्म पिसिआर रिपोर्ट नआउँदा खर्च बढिरहेको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । ‘क्वारेन्टाईन अवधि पुरा भएपनि घर पठाउन पाएका छैनौं ।’ ,उहाँले भन्नुभयो, ‘अहिलेको दैनिक खर्चले जिल्लामै पिसिआर परीक्षण गर्न सकिने स्थिति छ ।’
एउटा पालिकाले मात्र कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने अवस्था नरहेको सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । विभिन्न निकायको सहयोगमा जिल्लामै प्रयोगशाला स्थापना गर्न समन्वयको अभाव भएको उहाँको भनाई थियो ।

नेकपा नेता गौतमले जिल्लाका लागि १ लाख माक्स प्रदान गर्नुभएको हो । ६४ वडा, ९ पालिका, फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत मानिसहरुको भिडभाड हुने कार्यालय र संस्थाहरुलाई माक्स प्रदान गरिएको नेकपा ५ नं. प्रदेश कमिटि सदस्य विजयविराज विष्टले जानकारी दिनुभयो ।

माक्स ग्रहण गर्दै झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जि.सी.ले अभावको वेला सहयोगले राहत मिलेको बताउनुभयो । माक्स बजारमा सहज रुपमा उपलब्ध नहुँदा समस्या भएको उहाँको भनाई थियो ।

नेता गौतमले यसअघि जिल्ला पार्टी मार्फत जिल्लामा ११५ थान पिपिई, स्यानिटाईजर र माक्स सहयोग प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *