प्यूठान, २२ जेठ । स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीलाई स्थानीय केहि व्यक्तिले धम्की दिएको भन्दै कामकाज बन्द गरी कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नगरपालिका कार्यालयका घरधनी सुवर्ण कुमार श्रेष्ठ(सुमन श्रेष्ठ) नेतृत्वको १०÷१२ जनाको समुहले आइटी पार्क निर्माणको काम सम्पन्न भएको लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै धम्की दिएको कर्मचारीले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
उक्त घटनाको समयमा नजिकै रहेका जनप्रतिनिधिले समेत केहि नबोलेको कर्मचारीले गुनासो गरेका छन् । जनप्रतिनिधि छेउमै हुँदा पनि मुकदर्शक बनेको कर्मचारीले बताएका छन् ।
प्रदेश र नगरपालिकाको साझेदारीमा बन्न लागेको पार्क हो, प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद आचार्यले भन्नुभयो, नगरपालिकाबाट पाउनुपर्ने रकम भुक्तानी भइसकेको छ, प्रदेशको रकम आउन बाँकी छ । हिजो बुधबार उहाँहरुले तुरुन्त चाहियो भन्दै धम्की दिएको उहाँले बताउनुभयो । स्वास्थ्य बाहेकको काम बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य संयोजक दल बहादुर केसीलाई समेत काम गरिरहेको समयमा फोनबाट धम्की आएको प्रेस विज्ञप्तीमा उल्लेख छ । घटनाको निकास ननिस्किदासम्म कामकाज ठप्प पार्ने कर्मचारीले जनाएका छन् । स्वास्थ्य तर्फको सेवा भने निरन्तरता दिने उनीहरुले जनाएका छन् ।