प्युठान । झिमरुक गाउँपालिका- ४ मा चितुवाले पशुचौपाया खान थालेपछि स्थानीय त्रसित बनेका छन् । वडाका विभिन्न बस्तीमा दिउँसोको समयमा घरमा रहेका पशुचौपायालाई चितुवाले आक्रमण गरेर मार्न थालेपछि स्थानीय त्रसित बनेका हुन् ।
झिमरुक गाउँपालिका–४ स्थित बाङ्गे, टिमिलडाँडा, बौंडा, हरिय, शाझनठुटा, दोर्लाेटेलगायतका गाउँका स्थानीयको हालसम्म १७ वटा बाख्रा र खसीबोका चितुवाले मारेको स्थानीय प्रकाश जिसीले जानकारी दिनुभयो । चितुवाको आक्रमण बढेपछि घरबाट बाहिर निस्कन, मेलापात गर्न बालबालिकालाई स्कुल पढ्न आउजाउ गर्न डर भएको उहाँले बताउनुभयाे । “अहिलेसम्म मानवीय क्षति भएको छैन,” उहाँले भन्नुभयो, “चितुवा नियन्त्रणमा नआएसम्म गाउँमा त्रास छ ।”
चितुवा नियन्त्रणको प्रयास
चितुवालाई नियन्त्रण गर्न प्रयास थालिएको छ । गाउँपालिकाले डिभिजन वन कार्यालय प्युठानलाई पत्राचार गरे नियन्त्रणका लागि टोली खटिएको गाउँपालिकाले छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले चितुवा नियन्त्रण गर्न काम सुरु गरेको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालय (बर्दिया संरक्षण कार्यक्रम) बर्दियाबाट डिभिजन वन कार्यालयको समन्वयमा थप क्षति नहोस् भनेर चितुवा नियन्त्रणका लागि टोली प्युठान आएको डिभिजन वन कार्यालय प्युठानका अधिकृत हरि पौडेलले जानकारी दिनुभयो । प्राविधिकसहितको टोलीले आइतबारदेखि नै जङ्गली चितुवालाई ट्रयापिङ गर्ने काम थालेको अधिकृत पौडेलले जानकारी दिनुभयो ।
