> स्थानीय सरकार > मल्लरानीमा कोरोना भाइरस सम्वन्धि राहत वितरण मापदण्ड


मल्लरानीमा कोरोना भाइरस सम्वन्धि राहत वितरण मापदण्ड

कमल विक
प्यूठान, १८ चैत । कोरोना संक्रमणको महामारीलाई मध्यनजर गर्दै मल्ल्रानी गाउँपालिकाले राहत वितरणको मापदण्ड बनाएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले कोरोना भाइरस सम्वन्धि राहत वितरण मापदण्ड २०७६ स्विकृत गरेको हो ।
मापदण्ड अन्र्तगत पालिका भित्र बसोबास गर्ने र अन्यत्रबाट ज्याला मजदुरीका लागि आएका व्यक्तिलाई राहत उपलब्ध गराइनेछ । गाउँपालिका बाहेकका निकायले राहत वितरण गर्दा पालिकाको अनिवार्य स्विकृति लिनुपर्ने, नगद सहयोग भए पालिकाले स्थापना गरेको कोषमा जम्मा गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
परिवार अनुसार राहत
राहत वितरण गर्दा परिवारको संख्याको आधारमा वितरण गर्ने गरी मापदण्ड बनाइएको छ । चार जना सम्मको परिवारलाई ३० केजी चामल, २ केजी दाल, १ केजी नुन र १ केजी खाने तेल उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो ।
चार जना भन्दा बढी संख्या भएका परिवारलाई ४० केजी चामल, अढाई केजी दाल, १ केजी नुन र १ लिटर खाने तेल उपलध गराइने उहाँले बताउनुभयो । वडाको सिफारिसमा परिवारलाई राहत दिने समेत उहाँको भनाई छ ।
नौ लाखको राहत कोष
पालिकाले नौ लाख रुपियाँको राहत कोष स्थापना गरेको छ । कार्यपालिका बैठकले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको विविध शिर्षकबाट रकमान्तर गरि राहत कोष स्थापना गरेको हो । राहत कोषका जनप्रतिनिधि र कर्मचारीले समेत रकम सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो । कोषमा रकम जम्मा गर्न पालिकाले अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *