ऐजेन्सी– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (Covid19) ले प्रभावित बनेको फुटबल दुई महिनापछि मैदान पर्किँदा जर्मन लिग बुण्डेशलिगामा शनिबारदेखि फेरि शुरु भएको फुटबलमा बोरुसिया डर्टमण्डले विजयी सुरुवात गरेको छ ।
खेलमा पहिलो गोल गर्ने खेलाड एर्लिन हालान्ड बन्नु भएको छ । डर्टमण्डका लागि राफेल गुईरेरियोले दुई गोल र थोर्गन हाजार्डले एक गोल गर्नुभएको भयो । खेलको २९ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाउनु भएको थियो । खेलको ४५ औं मिनेटमा राफेलले गोल गर्दै डर्टमण्डलाई पहिलो हाफमा २-० को अग्रता दिलाउनु भएको थियो ।
दोस्रो हाफमा पनि डर्टमण्डले थप दुई गोल गर्यो । खेलको ४८ औं मिनेटमा हाजार्डले गोल गर्दा डर्टमण्ड ३-० ले अघि रह्यो । त्यसपछि खेलको ६३ औं मिनेटमा राफेलले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ४-० को सहज जित दिलाउनु भएको हो । ९० मिनेटको खेल सकिएपछि डर्टमण्डका खेलाडीले स्ट्याण्डतिर हेरेर खुशियाली मनाए तर त्यहाँ दर्शक भने थिएनन् । शान्त रंगशाला । खेलअघि खेलाडीले हात मिलाएनन् । दर्शकले भरिने स्ट्याण्ड पूरै खाली थियो । बेन्चमा बसेका खेलाडी र प्रशिक्षकले मास्क लगाएका थिए ।
जितपछि डर्टमण्डले २६ खेलबाट ५४ अंक जोड्दै शीर्ष स्थानको वायर्न म्युनिखसंग अंक दूरी १ मा झारेको छ । एक खेल कम खेलेको वायर्नको ५५ अंक छ । वायर्नले आइतबार युनियन बर्लिनसंग खेल्दैछ ।
