> राष्ट्रिय > बाँदरबाट बाली जोगाउन बारीमै बास


बाँदरबाट बाली जोगाउन बारीमै बास

प्युठान । गौमुखी गाउँपालिका-६ लिवाङकी विमला खड्का एक महिनादेखी बारीमै बस्न थाल्नुभएको छ । विहान उज्यालो नहुँदै बारीमा पुग्ने खड्का साँझपख घर फर्किनुहुन्छ । घरदेखी अलि टाढा रहेको बारीमा फलेका मकै बाँदरले खाइदिन थालेपछि खड्काको बारीमा बास हुन थालेको हो ।

 

‘बाँदरले बारीको मकै खाएर दुःख दिन्छ,’ उहाँले भन्नुभयो, ‘मकै जोगाउन ड्युटी बस्ने गरेका छौं ।’ रातीको समयमा दुम्सीले र दिउँसोमा बाँदरले मकैवाली खाएर दुःख दिने गरेको खड्का बताउनुहुन्छ । ‘दुई/चार डोको मकै जोगाउन पनि मुश्किल भयो,’ उहाँले भन्नुभयो, ‘दुःख गरेर खेती गरेपनि जोगाउन सकिँदैन ।’

 

प्रायजसो मकैवालीको सिजनमा जंगली जनावरले क्षति पुर्‍याउँदा जिल्लाका किसान चिन्तित बनेका छन् । वर्षेनी जंगली जनावरबाट मकैबाली जोगाउन किसानले विभिन्न उपाय अपनाउँदै आएका छन् । गौमुखी गाउँपालिका-६ लिवाङका गिर बहादुर खड्काले दुम्सी, बाँदरले मकैबाली खाईदिने गरेको बताउनुभयो । ‘वर्षेनी मकैबालीको सिजनमा बाली जोगाउन मुश्किल हुन्छ,’ उहाँले भन्नुभयो,‘गाउँलेले बादरलाई लखेट्ने गरेपनि दुम्सीलाई केहि गर्न सकिन्न ।’ गाउँपालिकाले बाँदर धपाउनका लागि बन्दुकको आवाज जस्तै आउने यन्त्रको व्यवस्था गरेपनि अहिले उक्त आवाजले बाँदर समेत भाग्न छाडेको उहाँ बताउनुहुन्छ ।

 

जिल्लाका धेरैजसो ठाउँमा बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरले बाली खाइदिने, क्षति पुर्‍याउने समस्या रहेको छ । जंगली जनावरबाट बाली जोगाउन किसानले परम्परागत रुपमा आगो बाल्ने, ठूलो आवाजमा बाजा बजाउने, मान्छेको डमी बनाउने गरेपनि बाली जोगाउन नसकिएको किसानको गुनासो छ ।

 

केहि वर्ष पहिले सिमित ठाउँमा मात्र जंगली जनावरको समस्या रहेकोमा पछिल्लो समय धेरे ठाउँमा जंगली जनावरले क्षति पुर्‍याउने क्रम बढ्दै गएको किसानको भनाई छ । दुःख गरेर लगाएको खेती फल्ने र पाक्ने बेलामा जंगली जनावरबाट जोगाउन चुनौती भएको किसान पदम बहादुर के.सी. बताउनुहुन्छ । ‘वर्षेनी बाली जोगाउन चुनौती छ,’ उहाँले भन्नुभयो, ‘दिगो समाधानका लागि स्थानीय सरकारले ध्यान दिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *