प्यूठान । जिल्लाका सबै बालबालिकाले पूर्ण खोप पाएका छन् । ६४ वडा र ९ स्थानीय तहका सबै बालबालिकाहरुले पूर्ण खोप पाए पछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ ।
बिहिवार बसेको जिल्ला खोप समन्वय समिति प्यूठानको बैठकले सबै इन्डिकेटर पुरा गरेपछि जिल्ला घोषणाको लागि मिति तय गरेको हो । असार ६ गते जिल्ला घोषणा गर्ने निर्णय भएको समितिका सदस्य सचिव मधुसुदन खड्काले जानकारी दिनुभयो ।
१६ देखि २३ महिनासम्मका २ हजार २४१ बालबालिका र २४ देखि ५९ महिना सम्मका १० हजार ६०३ गरी जिल्लामा रहेका जम्मा १२ हजार ८४५ बालबालिकाले पूर्ण खोप प्राप्त गरेको तथ्याङ्क छ ।
खोप छुटभएका बालबालिकाहरुलाई पूर्ण खोप सर्वेक्षणको क्रममा छुटेको डोज दिइ मात्रा पुरा गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । १६ देखि २३ महिना सम्मका १३ र २४ देखि ५९ महिनाका ४७ जना बालबालिकालाई छुटेको खोप दिएपछि पूर्ण खोप सुनिश्चित भएको हो ।
गौमुखीलाई ‘जिरो होम डेलिभरी’ पालिका घोषणा गरिने
गौमुखी गाउँपािलकाका सतप्रतिसत गर्भवतिहरु संस्थागत सुत्केरी भएका छन् । पूर्ण संस्थागत सुत्केरी भएपछि गौमुखी गाउँपालिकालाई ‘जिरो होम डेलिभरी’ पालिका घोषणा गरिने भएको छ ।
बिहिवार खोप समन्वय समिति प्यूठानका संयोजक धरमबहादुर जिसीको अध्यक्षता भएको बैठकले सबै इन्डिकेटर पुरा गरेको गौमुखी गाउँपालिकालाई ‘जिरो होम डेलिभरी’ पालिका घोषणा गर्ने निर्णय गरेको हो ।
