प्यूठान । वर्षेनी हुने ठूला दुर्घटनाले झस्काई रहने प्यूठानको स्वर्गद्वारी जाने सडक सुरक्षित बन्दैछ । सडक पूर्वाधार बिकास कार्यालय र सडक डिभिजन कार्यालय प्यूठानले सडक सुरक्षा सम्वन्धी विभिन्न कार्यहरु गरेपछि सडक सुरक्षित बन्न थालेको हो ।
सडक पूर्वाधार बिकास कार्यालय प्यूठानले रुमाले र घडेरीमा पहिरोका कारण साँघुरो भएको सडक गतवर्ष सडक सुरक्षा अन्तरगत पहिरो नियन्त्रणको काम सम्पन्न गरेको छ । ३ करोड १४ लाख ३२ हजार २२७ रुपैंयाको लागतमा पर्खाल लगाएर सडक सुरक्षा र चौडा बनाउनेको काम माईला ब्रो कन्ष्ट्रक्सन इलामले गरेको हो । सडक सुरक्षा अन्तरगत थप १ करोडको लागतमा सडक किनारमा स्टिलको बार लगाउने, भत्कीएको पीच मर्मत गर्ने काम गरेको कार्यालय प्रमुख चन्द्र शाहले बताउनुभयो । ‘तत्कालका लागि सडक सुरक्षाका कामहरु भएका छन् ।’ ,उहाँले भन्नुभयो, ‘सडक डिभिजन कार्यालयसँग सडक चेनेज छुट्टाएर सडक सुरक्षाको काम गरेका हौं ।’
रोड मार्किङ, क्याट्स आई, ट्राफिक संकेतहरु, सूचना बोर्डहरु राखे पछि सडक सुरक्षामा टेवा पुगेको छ । साघुँरो ठाँऊमा पक्की पर्खाल तथा ग्याविङ पर्खाल दिइएको छ । साँघुरा मोडहरुलाई चौडा गरिएको छ । ठाडो उकालो सडक सकिएपछि सवारी साधन विश्राम स्थल निर्माण गरिएको छ । ड्रामा–जलजला–रेड अर्थ जेभीले ८ करोड ७१ लाखमा सडक सुरक्षा अन्तरगतका विभिन्न कामहरु सम्पन्न गरेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।
सडक सुरक्षाका कामहरु भएपछि सवारी आवागमन समेत बढेको स्थानीय बताउँछन् । ‘सडक सुरक्षाका कामहरु भएपछि नीजि गाडि लिएर आउनेहरुको संख्या बढेको छ ।’ ,स्थानीय अनबहादुर बुढाले भन्नुभयो, ‘पर्यटकहरुको संख्या पनि बढेको छ ।’ भिंगृ–स्वर्गद्वारी १३ किलोमिटर सडकमा तीन पांग्रे टेप्पोहरु चल्न थालेको छन् । भारतीय नम्वर प्लेटका सवारीहरु, नीजि सवारीका साधनहरु पहिले भन्दा धेरै चल्न थालेको स्थानीय बुढाले बताउनुभयो ।
२०७५/०७६ देखि २०७९/०८० सम्म भएको ८ ठूला दुर्घटनामा ३० जनाको ज्यान गएको छ । २०८० जेठ २९ गते भएको कार दुर्घटनामा ८ जनाको ज्यान गयो । २०७८ बैशाख ३ गते रुमालेमा भएको दुर्घटनामा जिल्ला प्रशासन काार्यलय गुल्मीका ५ कर्मचारीको ज्यान गएको थियो । २०८० जेठ यता स्वर्गद्वारी सडकमा ठूला दुर्घटना भोग्न नपरेको जिल्ला ट्राफिक कार्यालय प्यूठानले जनाएको छ ।
