> राजनीति > एमाले प्यूठानको प्रतिवद्धता पत्र : जिल्लाको विकासको आधार


एमाले प्यूठानको प्रतिवद्धता पत्र : जिल्लाको विकासको आधार

प्यूठान । नेकपा एमाले प्यूठानले जिल्लाको विकास गर्ने आधार सहितको प्रतिवद्धता-पत्र सार्वजनिक गरेको छ । आज नेकपा एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले जिल्ला विविध कारणले विकासमा पछि परेको उल्लेख गर्दै आगामी निर्वाचनबाट जिल्लाको विकासका लागि आधारको रुपमा प्रतिवद्धता-पत्र सार्वजनिक गर्नुभएको हो ।

 

नेकपा एमाले प्यूठानको आयोजना तथा प्रेस चौतारी प्यूठानको सहजीकरणमा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा जिल्लाको पूर्वाधार विकासदेखी शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, उद्यमशिलता लगायतका विषय समेटिएको छ ।

 


कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापाले जिल्लाको आवश्यकता र जनताको मागको आधारमा प्रतिवद्धता पत्र तयार गरिएको बताउनुभयो । ‘हामीले कुनै मनोगत, पूर्वाग्रह भएर यो प्रतिवद्धता पत्र बनाएका छैनौं,’ उहाँले भन्नुभयो,‘यसै प्रतिवद्धता पत्रको आधारमा एमालेले जिल्लाको विकासको काम अघि बढाउँछ ।’ प्रतिवद्धता-पत्र विकासको आधार भएकाले यसलाई ठोस कार्यक्रमको रुपमा बुझ्न नहुने उहाँको भनाई छ ।

 

कार्यक्रममा नेता थापाले नेकपा एमालेले २०७० सालमा दुवै निर्वाचन क्षेत्रमा जित हासिल गरेपछि जिल्लामा विकासले गति लिएको दावी गर्नुृभयो । ‘२०७० साल अगाडी प्यूठानको बजेट, पूर्वाधारको अवस्था कस्तो थियो ?’ उहाँले भन्नुभयो,‘ एमालेको पहलमा, बामदेव गौतमको पहलमा, डा. गोविन्दराज पोख्रेलको पहलमा, मेरो पहलमा धेरै योजनाहरु अघि बढेका छन् ।’ आफूले जिल्लाको पर्यटन, सडक, स्वास्थ्यको क्षेत्रमा पहल गरेको उल्लेख गर्दै अवको निर्वाचनपछि ति योजनालाई प्रभावकारी कार्यान्वयन गर्न आफ्नो भूमिका हुने बताउनुभयो ।

प्यूठानको नौमुरे, स्वर्गद्धारी विमानस्थल, बाग्दुला-भिमगिठे सडक, मदन भण्डारी राजमार्ग, जिवराज आश्रीत कृष्ण सेन इच्छुक राजमार्गलाई कार्यान्वयन गर्ने प्रतिवद्धता थापाले जनाउनुभयो । प्यूठानमा पर्यटनको सम्भावनाको चर्चा गर्दै नेता थापाले स्वर्गद्धारी सहितको पर्यटकीय क्षेत्रको विकासका लागि काम गर्ने बताउनुभयो ।

 


उहाँले स्वर्गद्धारी विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिँदै मुस्ताङले, नैनीतालले धेरैको आयआर्जनमा टेवा पुर्‍याएजस्तै स्वर्गद्वारी आश्रमले पनि त्यस खालको फाइदा जिल्लालाई दिनसक्ने बताउनुभयो । ‘स्वर्गद्धारी विमानस्थलमा बनारसबाट, काठमाण्डौबाट, भैरहवाबाट पर्यटक, तिथयात्री आउन सक्छन्,’ नेता थापाले थप्नुभयो,‘त्यस खालको पूर्वाधार हामीले तयार गर्नुपर्छ ।’

 

हालसम्म जिल्लाका ३३ वटा वडामा पुगेर जनताको माग, आवश्यकता सुनेको बताउँदै सोही अनुरुप अगाडी बढ्ने उहाँको भनाई छ । निर्माण व्यवसायी संघ प्यूठानको सभाहल विजुवारमा भएको कार्यक्रममा सहभागी पत्रकारले जिज्ञासा तथा सुझाव राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *