प्यूठान । मदन भण्डारी राजमार्ग अन्तरगत सिमलटारी(गुल्मी)-सौतामारे-मच्छी(प्यूठान) निर्माणको काम सुस्त गतिमा छ । ठेकेदारको लापरवाहीका कारण निर्माण कार्य सम्झौता समयमै नसकिने भएको छ ।
२०८२ साउन ५ गते योजना सम्पन्न गर्ने गरि १ अर्ब ४५ करोडको लागत सम्झौता भएको योजनाको हाल सम्म १५ प्रतिशत काम सम्पन्न भएकोछ । ३१.८ किलोमिटरको यो सडक प्यूठानमा १५ किलोमिटर पर्दछ । मदन भण्डारी राजमार्ग निर्देशनालयसङ्ग श्रेष्ठ/सक्षम जेभीले २०७९ कात्तिक ६ गते सम्झौता भएको योजना मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मी अन्तरगत पर्दछ ।
आयोजनालाइ तिब्रता दिन पटक पटक कार्यालय र ठकेदार कम्पनीसङ्ग समन्वय गरे पनि कामले गति लिन नसकेको झिमरुक गाउपालिकाका अध्यक्ष पितबहादुर एमसिले बताउनुभयो । मच्छीबाट काम शुरु गर्दा प्रगती पनि राम्रो देखिने, निर्माण सामाग्री पुर्याउन समेत सजिलो हुने सुझाव राखेपनी बिभिन्न बाहाना बनाएर ठेकेदारले काम नै अघि नबढाएको उहाले बताउनुभयो ।
हिउदोको समयमा धुलो धेरै भएर र वर्षातको समयमा हिलो, पहिरोले हिडडुल गर्नै समस्या परेको मदाने गाउपालिकामा अध्यक्ष महेन्द्र बहादुर कुवरले बताउनुभयो ।
पटक-पटक ताकेता गर्दा पनि वर्क सेडुल अनुसार काम नभएको आयोजना कार्यालयका इन्जिनियर दिपक बि.क.ले बताउनुभयो । कामलाइ गति दिन तीन पटक पत्र नै लेखेको र पटक-पटक आयोजना निर्देशनालय, प्रतिनिधि सभा सदस्य सुर्य थापा र ठकेदार कम्पनीका प्रमुख डम्बर खड्कासङ्ग छलफल समेत भएको उहाले बताउनुभयो । १५ प्रतिशत कार्य प्रगती भएको आयोजनाको २५ करोड भुत्तानी भैसकेको उहाले बताउनुभयो ।
समयमा भुत्तानी नभएको र नदिजन्य समाग्रीको अभावले निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि दिपेन्द्र कुमार ठाकुरले बताउनुभयो ।
सबै पक्षले सहयोग गर्दा पनि ठेकेदारले कुनै समन्वय नगरेकोले काममा ढिलाइ भएकोले काममा स्पिड बढाउनुपर्ने झिमरुक गाउपालिका-४ का वडा अध्यक्ष सिताराम केसिले बताउनुभयो । नदिजन्य सामाग्रीको अभाव नभएको उहाले उल्लेख गर्नुभयो ।
काम गर्ने जनशक्ति नराख्ने, १/२ वटा मेसिन र टिप्पर राखेर अर्बको आयोजना सम्पन्न गर्न खोज्नु नै गलत भएको झिमरुक गाउपालिकाका-५ का वडा अध्यक्ष दधिराम पोख्रेलले उल्लेख गर्नुभयो । अधुरो कामले गर्दा जनताले दुख पाएको उहाले बताउनुभयो । पालिका भवन माथी पहिरो गएको वर्ष बित्दा समेत सुधार नभएको उहाले बताउनुभयो ।
सडक निर्माणलाई गति दिन, बाटोका कारणले ४ घर उच्च जोखिममा रहेको, बाटो बन्द हुदा तीन जिल्लाका स्थानियले दु:ख पाएकोले आइतबार सर्बपक्षिय बैठक गरि समस्या समाधान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुबेदी)ले बताउनुभयो ।
बाटोका कारणले जोखिममा रहेका खलेगाउका ४ घरलाई स्थानान्तरणका लागि क्षतिपूर्ति दिने, पहिरोहरु हटाउने र दशै पछि मच्छीबाट काम सुरु गर्ने आइतबार जिल्ला समन्वय समितिमा भएको सर्बपक्षिय बैठकले निर्णय गरेको जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम जिसिले बताउनुभयो ।