प्यूठान । जिल्लामा संचालित एच.आई.भी रोकथाम कार्यक्रमको बार्षिक समिक्षा गरिएको छ । शुक्रवार स्वास्थ्य कार्यालय प्यूठानमा विभिन्न सरोकारवाला पक्षहरुको सहभागीतामा समिक्षा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वार्षिक प्रगतिका वारेमा जानकारि दिदै कार्यक्रम साझेदार संस्था मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठानका कार्यक्रम संयोजक कुशल चौधरीले एच.आई.भी परिक्षण संगै व्यवहार परिवर्तनका लागि परामर्श,मोवाईल क्याम्प,घरधुरी परामर्श, महिला स्वास्थ्य स्वयमसेविकालाई अभिमूखिकरण लगाएत कार्यक्रम संचालन गरेको जानकारि गराउनु भयो । पछिल्लो एक वर्षमा ११ हजार ५ सय ७७ जनाको एच.आई.भी. परिक्षण,१२ हजार १ सय ७२ जनालाई परामर्श गरेको उहाँले बताउनु भयो ।
स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा अभियानलाई थप प्रभावकारी बनाउन एकिकृतरुपमा कार्यक्रमहरु संचालन गर्न सरोकारवाला निकायहरुले जोड दिएका थिए ।
स्वास्थ्य कार्यालय प्रमुख पाण्डेले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सम्वन्धीत कार्यालय र परियोजनाहरु एकिकृतरुपमा अघि बढ्नु पर्ने बताउनु भयो । हाल सम्म एच.आई.भी. रोकथामका लागि विभिन्न परियोजनाहरुले गरेको कार्य प्रभावकारी रहेको औल्याउदै उहाँले समुदायस्तरमा यसको प्रभावकारीता बढाउन सवै निकाय एकिकृत ढंगले अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साझेदार संस्थाका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले परियोजनाको उद्येश्य अनुसार भारतवाट भित्रिने मानिसलाई लक्षित गर्दै परिक्षण तथा परामर्शका कार्यहरुलाई प्राथमिकता दिदै आएको बताउनु भयो ।
ग्लोवल फण्डको सहयोगमा सेभ द चिल्ड्रेनको सझेदारीमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले २ वर्ष देखि जिल्लामा एच.आई.भी रोकथाम कार्यक्रम संचालन गर्दै आएको छ । जिल्लामा किड्स,प्यूठान प्लस,प्यूठान अस्पत्ताल एआरटी सेन्टर,विएमएनटी लगाएत परियोजनाले एच.आई.भी तथा क्षयरोग न्यूनिकरणका लागि काम गर्दै आएका छन् ।
स्वास्थ्य कार्यालय,प्यूठान अस्पत्ताल, जिल्ला प्रशासन,प्रहरी,नेपाल पत्रकार महासंघ तथा परियोजना कार्यान्वयन संस्थाका प्रतिनिधिहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
