राष्ट्रियसमाज

गर्भवतीको घरमा रातो झण्डा, उद्धार गर्न महिला समुह गठन

प्युठान । गाउँमा कसैलाई प्रसुती व्यथा लागेमा स्वास्थ्य चौकीसम्म पुग्न एम्बुलेन्स पाइदैन । गर्भवतीलाई स्वास्थ्य चौकीसम्म पुर्‍याउन गाउँमा युवा छैनन् । समयमै स्वास्थ्य चौकी पुर्‍याउन नसक्दा कोही घरमै त कोही बाटोमै सुत्केरी हुन्छन् । कतिपय आमा र बच्चाको ज्यानै पनि जान्छ । गाउँमै स्वास्थ्य चौकी भएपनि विविध कारणले गर्भवती महिलालाई सुत्केरी हुन स्वास्थ्य संस्था पुग्न अप्ठ्यारो छ ।

 

नौबहिनी गाउँपालिका-८ स्थित फोप्ली गाउँको यो समस्यालाई समाधान गर्न स्वास्थ्य चौकी आफैले एउटा पहल थालेको छ । स्वास्थ्य चौकीको सेवा क्षेत्रभित्र रहेका टोलमा गर्भवती महिलाको उद्धारका लागि समिति गठन थालेको छ । वडाका ३० वटा टोलमा महिलाहरुकै समुह गठन गरिएको फोप्ली स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले बताउनुभयो । एउटा समुहमा ६ जना महिला रहेका छन् । वडाका सवै वस्तीमा पुगेर समुह गठन गरिएको छ । प्रत्येक गर्भवतीको घरमा रातो झण्डा राख्ने कार्यको समेत सुरुवात गरिएको प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

“सवै टोलमा महिलाहरुको समुह गठन भइरहेको छ,”उहाँले भन्नुभयो, “सवै समुहलाई स्टेचर पनि उपलब्ध गराउँदैछौं ।” गर्भवती महिलाहरु सवैलाई स्वास्थ्य संस्थामै सुत्केरी गराई पूणर् संस्थागत सुत्केरी बनाउन समेत यो अभियानले सहयोग पुग्ने स्वास्थ्य चौकी प्रमुख घिमिरेको भनाई छ ।

 

फोप्ली स्वास्थ्य चौकीमा गतवर्ष ४८ जना स्वास्थ्य संस्थामा र १२ जना घरमा सुत्केरी भएका थिए । यस वर्ष ५४ जना स्वास्थ्य संस्थामा र १३ जना घरमा सुत्केरी भएको स्वास्थ्य संस्थाको तथ्याङ्क छ । यो वर्ष ८२ जना गर्भवती स्वास्थ्य संस्थामा दर्ता भएका छन् । जसमध्ये १३ जना २० वर्ष मुनिका गर्भवती छन् ।

“अघिल्लो वर्ष बाटोमै सुत्केरी हुँदा बच्चाको ज्यान गयो,” स्वास्थ्य प्रमुख घिमिरेले भन्नुभयो,“त्यसैले हामी कसरी गभवतीलाई स्वास्थ्य संस्थासम्म ल्याउने भन्ने अभियानमा लागेका छौं ।” त्यसका लागि महिला स्वास्थ्य स्वयंसेविका, आमा समुहलाई समेत परिचालन गरिएको छ । यो अभियानले घरमै सुत्केरी हुनेको संख्या घटाउन सहयोग पुग्ने घिमिरेको अपेक्षा छ ।

Related Articles

Back to top button