प्यूठान । ऐरावती गाउँपालिका–६ स्थित क्वारेन्टाइनमा बसेकी एक विरामी महिलाको मृत्यु भएको छ ।
ब्रेन ट्युमरको समस्याले ग्रसित २७ वर्षीया पार्वता थापाको आज विहान करीव ८ बजे क्वारेन्टाइनमा मृत्यु भएको वडा अध्यक्ष चन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
ब्रेन ट्युमरको दुई पटक अप्रेशन गरिएको पारिवारीक स्रोतलाई उद्धृत गर्दै वडा अध्यक्ष रानाले बताउनुभयो । तीन वर्ष अघि पहिलो पटक र अढाई महिना अघि दोस्रो पटक अप्रेशन गरिएको थियो, उहाँले भन्नुभयो, यहाँ आउँदा नै विरामी अवस्थामा थिइन । उहाँ सहितको परिवार ६ दिन अघि जिल्ला आएका हुन ।
उनीहरु ऐरावती गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । विरामी पार्वता सहित श्रीमान राजु थापा, १० वर्षका छोरा रोहित थापा, ३ वर्षको छोरा शिव थापा, आमा विस्नु कुमारी बस्नेत, भाई सुनिल बस्नेत क्वारेन्टाइनमा थिए ।
पार्वताको मल्लरानी गाउँपालिका–४ गहतेरामा विवाह भएको हो, वडा अध्यक्ष रानाले भन्नुभयो, श्रीमान भारतमा काम गर्ने हुँदा श्रीमानसँगै भारतको पञ्जावको लुधियानमा बस्दै आएका थिए । घरमा हेरचाह गर्ने मान्छे नभएकाले श्रीमानको आग्रहमा माईतीघर तर्फको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको हो ।
आजै मृतकसँगै बस्दै आएका परिवारको सदस्यको आरडीटी जाँच गरिएको र रिर्पोट नेगेटिभ देखिएको पालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिनुभयो ।