> आर्थिक > योजना सम्झौता भएपछि उपभोक्ताले थाहा पाए


योजना सम्झौता भएपछि उपभोक्ताले थाहा पाए

प्यूठान, १६ बैशाख ।
झिमरुक गाउँपालिका–८ गब्दीमा नक्कली उपभोक्ता समिति गठन गरेर योजना सम्झौता गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् । ओख्लेपानी कुटारा गब्दीखोला नदि नियन्त्रणको योजनाका लागि नक्कली उपभोक्ता समिति बनाएर सम्झौता भइसकेको थाहा पाएपछि स्थानीयले समिति खारेजसँगै कारवाहीको माग गरेका छन् ।


नक्कली हस्ताक्षर, अवास्तविक उपभोक्ता र घरघरमा गएर हस्ताक्षर गरि समिति बनाएको भन्दै स्थानीयले गाउँपालिकामा समिति खारेजी गर्न र कारबाही गर्न माग गरेका छन् । निवेदनमा जिल्ला प्रशासन कार्यालय प्यूठान र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरलाई समेत बोद्यार्थ दिइएको छ ।
गाउँपालिकाले नदि नियन्त्रणका लागि एक लाख ५० हजार विनियोजन गरको थियो । गाउँमा योजना परेपछि उपभोक्ता समिति गठन गर्नका लागि पालिकामा बुझ्न जाँदा उक्त कुरा थाहा भएको स्थानीय विस्नु बस्नेतले बताउनुभयो । फागुन २१ गते समिति गठन गरिसकेका रहेछन, उहाँले भन्नुभयो, हामीले एक हप्ता अगाडी मात्र थाहा पाइम् । कसरी समिति गठन गरेको भनेर सोधपुछ गर्दा हाँक हालेरै बैठक बोलाएर समिति गठन गरेको भन्नुभयो, उहाँले थप्नुभयो, हामीले हाँक हालेको पनि सुनेनौँ । गाउँपालिकाका किर्ते काम कसरी र कस्ले गर्यो भनेर निवेदन दिएका छौं, उहाँले भन्नुभयो, गाउँपालिकाले गर्ला अब के गर्ने हो ।


वडा अध्यक्ष तुलस बस्नेतले भने उपभोक्ता समिति नक्कली नभएको दावी गर्नु भएको छ । जनप्रतिनिधि र कर्मचारीलाई उपभोक्ता समिति गठन गर्न पठाएको भन्दै मानिसहरु जम्मा गरेर नै समिति गठन भएको बताउनुभयो । उक्त योजनाको बजेट वडाबाट प्रस्ताव नभएर गाउँपालिकाबाट सिधै आएको समेत उहाँले बताउनुभयो । नक्कली मान्छे बनाएर, अरुको सिग्नेचर गरेर बनाएको अवस्था होइन, उहाँले भन्नुभयो, नक्कली भनेर आरोप लगाउने साथीहरुले म सँग सम्पर्क गर्नुभाछैन, वडा कार्यालयलमा जानकारी गराउनुभाछैन, गाउँपालिकामा जानकारी गराउनुभाछ भन्ने कुरा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!