> राष्ट्रिय > प्यूठान अस्पतालमा डायलाइसिस सेवा संचालनका लागि छलफल


प्यूठान अस्पतालमा डायलाइसिस सेवा संचालनका लागि छलफल

सिर्जना सेन

प्यूठान । प्यूठान जिल्ला अस्पतालमा डायलाइसिस विभाग संचालनका लागि बुधवार सर्वपक्षिय छलफल भएको छ । जिल्ला समन्वय समिति प्यूठानको आयोजनामा स्थानीय तहका प्रमुखहरु सहित सरोकारवालाहरु वीच भएको छलफलमा सेवा संचालनका लागि श्रोत सुनिश्चितताको प्रतिवद्धता भएको छ ।

 

सेवा संचालनका लागि लायन्स क्लव डिष्ट्रिक ३२५ एन र लायन्स क्लव अफ प्यूठान मार्फत लायन्स क्लव इन्टरनेश्नलले कुल लागतको ७५ प्रतिशत लागत साझेदारी गर्ने प्रतिवद्धता प्राप्त भएकाले बाँकी २५ प्रतिशत लागत साझेदारी जुटाउने विषयमा छलफल भएको अस्पताल विकास समितिका अध्यक्ष विजयविराज विष्टले जानकारी दिनुभयो । स्थानीय तहका प्रतिनिधिहरुले श्रोत सुनिश्चितताका लागि आगामी आ.व. २०८०/०८१ को बार्षिक कार्यक्रममा समेट्ने प्रतिवद्धता जनाएका छन् ।

 

नियमित डायलाइसिस गराउनुपर्ने विरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता हुँदा धेरै खर्च लाग्ने भएकाले जिल्लामै सेवा संचालन गर्न लागिएको अध्यक्ष विष्टको भनाई छ ।


जिल्लाका साझा सवालहरुमा स्थानीय तहहरुले संयुक्त रुपमा गर्दै आएको पहलको प्रशंसा गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माले डायलाइसिस सेवा संचालनमा पनि सवैको सहयोगका लागि अनुरोध गर्नुभयो ।

 

प्यूठानका ९ वटै स्थानीय तह र छिमेकी जिल्लाका छिमेकी पालिकाहरुलाई समेत सहयोगका लागि अनुरोध गर्ने निणर्य भएको छ । अस्पताल प्रदेश मातहत भएकाले प्रदेश सरकारले समेत लागत साझेदारीमा भूमिका निर्वाह गर्नुपर्ने सहभागीहरुको जोड थियो ।

 

५ वेडको डायलाइसिस विभाग संचालनका लागि कुल १ करोड ६१ लाख ५० हजार लागत अनुमान गरिएको अस्पतालका प्रवन्धक राजन घिमिरेले बताउनुभयो ।

 

सेवा संचालनमा सहयोग गर्नु सबैको दायित्व भएको भन्दै गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले यसको निरन्तर सेवा सहितको दिगोपनाका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

 

नयाँ बजेट निर्माणको क्रममा रहेकोले सेवा संचालनका लागि सहयोगको प्रतिवद्धता जनाउँदै मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले अस्पताल भित्रका सम्पूणर् सेवाहरु सुधारत्मक भएको सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।

 

सेवा संचालनका लागि पालिकाहरुले हाल प्रदान गर्दै आइरहेको विपन्न नागरिक स्वास्थ्योपचार सहयोग, जेष्ठ नागरिक स्वास्थ्य उपचार सेवा जस्ता नीतिगत व्यवस्था मार्फत विरामीहरुको नियमित उपचारमा महत्वपूणर् सहयोग पुग्ने लायन्स क्लव अफ डिष्ट्रिक ३२५ एनका रिजन चेयरपर्सन अर्जुन कुमार कक्षपतीको अपेक्षा व्यक्त गर्नुभयो ।

 

जिल्ला समन्वय प्रमुख धर्मबहादुर जिसीको अध्यक्षतामा बैठक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *