प्यूठान, फागुन १९ गते । ऐरावती गाउँपालिका-१ सल्लिकोटमा आगलागीमा एक वृद्धको मृत्यु भएको छ ।
आफ्नै घरमा भएको आगलागीमा परेर ८० वर्षीय आइतसिंह विरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
“आगलागी भएपछि सवै जना परिवार घर बाहिर निस्किएका रहेछन,” प्रहरी निरीक्षक गैरेले भन्नुभयो, “घरभित्र सामान निकाल्न जाँदा निसास्सिएर मृत्यु भएको हो ।” बुधबार विहान ७ बजे विद्युत सर्ट भएर फुसको छानो भएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरगोठ समेत पूणर् रुपमा जलेको छ । परिवारमा विरकट्टाको श्रीमती, बुहारी र पाँच जना नातिनातिना रहेका छन् ।
