> राष्ट्रिय > प्यूठानमा कति बालबालिकालाई लगाईदैछ दादुरा रुवेला खोप ?


प्यूठानमा कति बालबालिकालाई लगाईदैछ दादुरा रुवेला खोप ?

प्यूठान समाचार सम्वाददाता
प्यूठान, २८ माघ ।
९ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउन अभियान शुरु गर्न लागिएको छ । जिल्लाका २४ हजार ८२४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य सहित स्वास्थ्य कार्यालय प्यूठानले अभियान अघि बढाउन लागेको हो । देशभर ६० लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।
दुई चरणमा अभियान
राष्ट्रिय अभियानको रुपमा फागु १ गतेदेखि सञ्चालन हुन लागेको दादुरा रुबेला खोप अभियान जिल्लामा दुई चरणमा सञ्चालन गर्न लागिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले खोप अभियानलाई प्रभावकारी बनाउन दुई चरणमा अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।
जिल्लाका ९ वटा स्थानीय तहलाई दुई भागमा विभाजन गरेका छौं, स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले भन्नुभयो, अभियान सफल बनाउनकै लागि दुई चरणमा विभाजन गरिएको हो । फागुन ७ देखि १५ गतेसम्म मल्लरानी, झिमरुक, गौमुखी र नौबहिनी गाउँपालिकामा अभियान सञ्चालन हुँदैछ । दोस्रो चरणमा फागुन १८ देखि २६ गतेसम्म स्वर्गद्वारी नगरपालिका, प्यूठान नगरपालिका, माण्डवी, सरुमारानी र ऐरावती गाउँपालिकामा अभियान चल्ने आयोजकले जनाएको छ ।
४५५ खोप केन्द्र
जिल्लाभर ४५५ खोपकेन्द्र सञ्चालन हुनेछ । ४५५ स्वास्थ्यकर्मी र ९१० जना स्वयंसेवक खटिने आयोजकले जनाएको छ । जसमा महिला स्वास्थ्य स्वयंसेविका समेत सहभागी हुनेछन् ।
अभिभावकलाई निमन्त्रणा कार्ड
खोप लगाउने उमेर समुहका अभिभावकलाई स्थानीय पालिकाले निमन्त्रणा कार्ड पठाउँदैछ । नगरप्रमुख वा अध्यक्षले हस्ताक्षर गरि निमन्त्रणा कार्ड पठाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *