प्युठान । राष्ट्रिय अपागं सेवा संघ प्यूठानले अपांगता भएका ब्यक्तिलाई राज्यले सार्वजनिक यातायातका साधनको प्रयोगमा दिएको भाडा छुट कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै संघले भाडामा दिएको सहुलियत ब्यबहारत लागु गर्न माग गरेको हो ।
नेपाल सरकारले अपांगता भएका व्यक्तिहरुलाई सार्वजनिक यातायातका साधनहरुमा यात्रु भाडाको आधा छुट दिने कानुनी व्यवस्था गरेपनि कार्यान्वयन नभएको राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के.सी.ले बताउनुभयो । अपांगता अधिकार ऐन २०७४ को परिच्छेद ८ को दफा ३७ मा सहुलियत र सेवा सुविधामा उल्लेख गरिएको उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले यस बिषयमा यातायात ब्यबसायीसंग छलफल गरि कार्यान्वयन गर्ने बताउनुभयो । राज्यले दिएको सहुलियत अपांगता भएका ब्यक्तिले पाउनुपर्ने उहाँको भनाई छ ।
यस विषयमा विगतमा पनि जिल्ला प्रशासन कार्यालयमा छलफल भई सहुलियत दिन सम्वन्धित पक्षलाई पत्राचार भएतापनि कार्यान्वयन नभएको र अपांगता भएका व्यक्तिहरुले यातायातमा सिट र भाडा छुट नपाएको गुनासो आइरहेकोले नियमानुसार पाउनुपर्ने छुट कार्यान्वयन गराउनका लागि तत्काल आवश्यक पहल गरिदिनुहुन अनुरोध गरिएको राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष हुनाराम खड्काले जानकारी दिनुभयो ।