प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक(डिएसपी) सत्य नारायण थापाले जिल्लाको शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो कर्तव्य भएको बताउँदै त्यस अनुसार आफूले काम गर्ने बताउनुभएको छ ।
प्यूठान उद्योग वाणिज्य संघले आज गरेको स्वागत कार्यक्रममा बोल्दै डिएसपी थापाले शान्ति सुरक्षा कायम गर्न प्रहरी सँगै आम सरोकारवाला निकायको भूमिका पनि रहने भन्दै सहयोगका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष केदारमान कक्षपतिले व्यवसाय सँग सम्वन्धित सडक लगायतका विषयमा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले बाग्दुला क्षेत्रमा सडक र सवारीको समस्या रहेको भन्दै प्रहरीको संख्या समेत कम भएको भन्दै ध्यानाकर्षण गराउनुभयो ।
निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपानेले संघको अहिले इलाका अधिवेशन चलिरहेको जानकारी गराउँदै जिल्ला नेतृत्व समेत सर्वसम्मत बनाउने तर्फ संघ अघि बढेको बताउनुभयो ।
पूर्व अध्यक्ष इमानसिंह भारतीले जिल्लाको विकास निर्माणसँग संघको सम्वन्ध रहने भन्दै विकासका काम पछि परेको औल्याउनुभयो । उहाँले भालुवाङ प्यूठान बाग्लुङ त्रिदेशीय मार्ग, नौमुरे जलविद्युत, स्वर्गद्धारी विमानस्थल, केवलकार लगायतका विकासका योजना अघि बढ्न सके त्यसले जिल्लाको आर्थिक गतिविधिलाई बढाउने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक प्रकाश खनालले गर्नुभएको थियो ।
