प्युठान । मल्लरानीको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले प्रथम मल्लरानी फुड फेस्टिबल संचालन गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवबाट नाफा कमाउने उदेश्य नभएको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको आयोजक प्युठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष एवम् संयोजक बासुप्रसाद श्रेष्ठले बताउनुभयो ।
मल्लरानीमा चैत ३० गतेदेखि बैशाख २ गतेसम्म फुड फेस्टिबल हुँदैछ । प्रचुर पर्यटनको सम्भावना रहेको मल्लरानीमा आवश्यक पुर्वाधार निर्माणमा सरोकारवाला निकायको ध्यानाकर्षण गर्न महोत्सवले सहयोग पुग्ने सह-संयोजक ईमानसिंह भारतीले जानकारी दिनुभयो ।
मल्लरानीमा कालोपत्रे सडक, चिल्ड्रेन पार्क, खानेपानी, जीपलाईन लगायतका पुर्वाधार निर्माणका योजना अघि बढेको छ ।
महोत्सव अगावै ब्यक्तिगत लगानीमा मल्लरानीमा नेपालको झन्डा, झुला, सेल्फी स्ट्यान्ड, भगवती मन्दिर, बाघमुखे चुलेसी लगायतका संरचना बन्ने आयोजकले जनाएको छ ।
आयोजकले आज मल्लरानीमै पत्रकार भेट गरी महोत्सवको अवसरमा दौड, लोक गीत, पात बजाउने, बक्तित्वकला प्रतियोगिता, पुनर्मिलन कार्यक्रम हुने जानकारी दिएको छ ।
